‘भारतले जित्नु पर्ने थियो, नेपालले खराब मैदानको कारण राम्रो खेलेको हो’- प्रशिक्षक स्टिमाक

खेलकुद

काठमाडौं । नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार खेलिएको खेलमा नेपालले राम्रो प्रदर्शन गरेको थियो। नेपालका स्ट्राइकर अन्जन विष्टले पहिलो हाफको ३६औं मिनेटमा गरेको गोललाई भारतका अनिरुद्ध थापाले दोस्रो हाफको ६०औं मिनेटमा गरेको गोलले फच्या गरिदिएको थियो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेले पनि खेलमा निर्णायक गोल हुन नसक्दा दुवै टोलीले बराबरीमा चित्त बुझाएका छन्। तर भारतका मुख्य प्रशिक्षक इगोर स्टिमाकका अनुसार भारतले धेरै राम्रो फुटबल खेलेको बताएका छन्।

“नेपालले आज खराब मैदानको कारणले राम्रो खेलेको हो, खेलको स्तर भारतको धेरै राम्रो छ, जित हाम्रै हुनु पर्ने थियो”, स्टिमाकले पोस्ट म्याच कन्फरेन्समा बताएका छन्। “भारत नेपालभन्दा निकै बलियो टोली हो, यो सबैलाई थाहा छ। हामीले खेलमा सिल्ली गोल खान पुग्यौं, दोस्रो हाफमा शानदार प्रदर्शन गरेका थियौँ तर गोल भने हुन सकेन”, स्टिमाकले थपे।

“खेलको दुई पक्ष थिए, पहिलो हाफमा हामीले खराब खेल्यौँ, तर दोस्रो हाफमा हाम्रो प्रदर्शन एकदमै राम्रो थियो”, स्टिमाकले बताएका छन्। “नेपालले आफ्नो खराब मैदान र काउन्टर एट्याकको कारणले गर्दा प्रतिस्पर्धात्मक खेल खेलेको हो”, स्टिमाकका शब्द थिए।

फिफा वरियतामा १०५औं स्थानमा रहेको भारतले खेलको दोस्रो हाफको सुरुवातमा नै चार खेलाडी प्रतिस्थापन गरेको थियो। ती मध्ये जर्सी नम्बर ७ अनिरुद्ध थापाले पाहुना टोलीका लागि बराबरी गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *