प्रचण्डको दावी- मधेसमा छिट्टै कब्जा जमाउँछौं, माओवादी पहिलो पार्टी नभइ देश बन्दैन

राजनीति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल‘प्रचण्ड’ ले आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने दावी गरेका छन् ।
सर्लाही-काठमाडौं सम्पर्क समितिले राजधानीमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउनेछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।’

माओवादी फेरि एक नम्बर पार्टी नभइ देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी गर्दै प्रचण्डले अभियान लिएर गाउँ-गाउँ जान कार्यकर्तालाई आग्रह पनि गरे । ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उनले भने, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’

सरकारलाई पूर्णता दिने विषयमा आज पनि छलफल भएको बताउँदै उनले भोलि पनि बसेर यसबारेमा ठोस कुरा हुने जानकारी दिए । प्रचण्डले छिट्टै प्रदेश १ को सरकार ढल्ने बताएका छन् ।

यो पनि पढ्नुहोस
वाईसीएलको सम्मेलन भोलिसम्मलाई स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएलको दुई दिने सम्मेलन आज पनि स्थगित गरिएको छ ।सहमतिमै नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेपछि शनिबार शुरू भएको सम्मेलन आज पनि टुंगिन सकेन । राष्ट्रिय सम्मेलनका प्रचार विभाग प्रमुख पुष्प ओलीले सम्मेलन भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

नेतृत्व सहमतिमा टुंग्याउन अधिकतम कोसिस गर्ने भन्दै हिजोको सम्मेलन पनि स्थगित गरिएको थियो । हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् ।

अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले दावी गरेका छन् । २०७४ साल भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *