सवारी चालक अनुमतिपत्रको परीक्षा भदौ २० बाट पुनः शुरु (सुचना सहित )

समाचार

काठमाडौं, १४ भदौ । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा यातायात व्यवस्था विभागले पुनः सुरु गर्ने भएको छ । विभागले लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु गर्न मातहतका कार्यालयहरुलाई निर्देशन दिएको हो ।

भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पुरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न विभागले मातहतका कार्यालयहरुलाई निर्देशन दिएको हो ।

यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ललितपुरले २० भदौदेखि सञ्चालन गर्ने गरी हिजो (आइतबार) सुचना प्रकाशित गरेको छ ।

यसपटक लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन पाउने नयाँ व्यवस्था गरिएको छ । ट्रायल परीक्षा दिनको लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्ने विभागले जनाएको छ ।

यो पनि पढ्नुहोस
कसरी हुन्छ परीक्षा?
लाइसेन्स लिनका लागि हुने परीक्षा प्रणालीलाई केही खुकुलो बनाउने तयारी विभागले यसअघि नै थालिसकेको छ।

सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकामा लिखित परीक्षाका लागि ५०० वटा प्रश्न सार्वजनिक गरिने र त्यसभित्रबाट मात्रै सोधिने अनि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने बताइएको छ।

अबको परीक्षा नयाँ प्रावधानअनुरूप नै हुने बीबीसीसँग केही समयअघि गरिएको कुराकानीका क्रममा विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिएका थिए।

ए (मोटरसाइकल, स्कूटर, मोपेड), बी (कार, जीप, डेलिभरी भ्यान) र के (स्कूटर, मोपेड) श्रेणीका साधनमा त्यो लागु हुने बताइएको छ।

उनका अनुसार लिखित परीक्षा पूरा भएर ट्रायल बाँकी भएका आवेदकले पुरानै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। नयाँ प्रणालीबाट छुट्टै लिखित र ट्रायल परीक्षा हुने उनको भनाइ थियो।

सरकारले गत जेठ १ गतेदेखि नै नयाँ निर्देशिकामा आधारित रहेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

नयाँ प्रावधानमा के छ?
यसअघिको निर्देशिकामा लिखित परीक्षाका लागि प्रश्नको कुनै सङ्ख्या तोकिएको थिएन भने उत्तीर्ण अङ्क ५० राखिएको थियो।

त्यस्तै प्रयोगात्मक परीक्षामा सबै सूचकमा उत्तीर्ण भएर १०० अङ्क नै ल्याउनु पर्ने बाध्यात्मक व्यवस्था थियो।नयाँ प्रणालीअनुसार सार्वजनिक गरिएका ५०० प्रश्नमध्ये २० वटा सोध्ने र ८० प्रतिशतसम्म मिलाउने आवेदक लिखित परीक्षामा पास हुने बताइएको छ।

प्रयोगात्मक परीक्षाका लागि हेरिने विषयको पनि सूचक बनाएर त्यसलाई निश्चित अङ्क दिइएको अधिकारीहरू बताउँछन्।

उक्त परीक्षामा १०० मा ७० ल्याउनेलाई पास गर्ने व्यवस्था गरेका कारण सानो गल्तीका कारण अनुत्तीर्ण हुने अवस्थाको अन्त्य हुने विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।

के गर्दा घट्छ अङ्क?
नयाँ प्रावधानअन्तर्गत प्रयोगात्मक परीक्षामा सबैभन्दा बढी ट्राफिक सङ्केतको पालना नगरेमा १५ अङ्क घट्ने व्यवस्था गरिएको छ।

त्यस्तै सङ्केत चिह्न छोएमा, खुट्टाले भुइँमा टेकेमा, मोडमा इन्डिकेटर बत्ती नबालेमा लगायतका गल्ती हुँदा फरकफरक अङ्क घट्ने व्यवस्था गरिएको छ।

अहिले लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने दर ३० देखि ३५ प्रतिशत रहेकामा नयाँ व्यवस्था लागु भएपछि बढेर ५० देखि ६० प्रतिशतसम्म पुग्ने अपेक्षा विभागको छ।

ठूला सवारी चलाउने अनुमतिपत्र लिँदा भने अहिलेकै व्यवस्था कायम रहने अधिकारीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *