कालीकोटमा जीप दुर्घटना हुँदा घटनास्थलमै एकको मृ’त्यु, ११ घाइते

समाचार

१३ भाद्र २०७८, आईतवार २३:१९

कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–२ कालीकोटको आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शान्तिघाटदेखि जितेगाडका लागि छुटेको मानसरोवर यातायातको क १ ज २३ नम्बरको जीप दुर्घटना हुँदा करिब २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

घाइते पाँचको अवस्था गम्भीर भएकाले हेलिकप्टर बोलाइएको तर मौसम खराबीका कारण बीचैबाट फर्केको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले गम्भीर घाइते पाँच जनालाई ल्याउनका लागि सशस्त्र प्रहरीको गाडी त्यसतर्फ पठाइएको छ । छ जनाको भने रास्कोट अस्पतालमै उपचार भइरहेको उहाँले जनाउनुभयो ।

प्रहरीका अनुसार घाइते हुनेमा कालीकोट रास्कोट नगरपालिका–९ का नरपति लोहार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लोहार र रास्कोट–७ का कमलराज शाही, सान्नीत्रिवेणी–६ का बदे संज्याल, रन्तप्रसाद संज्याल, सुन्दर संज्याल, तिलकप्रसाद संज्याल र पँचाल झरना गाउँपालिका–९ की अनिता शाही रहेका छन् ।

यो पनि पढ्नुहोस
आजबाट पानी पर्नेक्रम कम हुने, पहिरोको जोखिम कायमै
काठमाडौं । आजबाट पानी पर्नेक्रम केही कम हुने भएको छ । आजबाट क्रमशः पानी पर्नेक्रम विस्तारै कम हुँदै जाने मौसमविद् राजु प्रधनाङ् बताउँछन् ।

“पूर्णरुपमा पानी नपर्ने भन्ने त होइन तर आजबाट वर्षाको क्रम केही कम हुँदै जाने छ । भोलिबाट घाम पनि लाग्ने छ,” मौसमविद् प्रधानाङ् भन्छन्, “जुन प्रणालीले नेपालमा वर्षा भएको हो त्यो नेपालभन्दा धेरै तल रहेकाले अब विस्तारै वर्षा कम हुने हो ।”
यद्यपि पहिरोको सम्भावना भने कायम नै रहेको उनको भनाइ छ । लामो समय निरन्तर पानी परेकाले अब सामान्य वर्षा हुँदा पनि पहिरो जान सक्ने उनी बताउँछन् । निरन्तरको वर्षाले गलेको जमिन सामान्य पानी पर्दा पनि बग्नसक्ने उनको भनाइ छ । त्यसैले सतर्क हुनु पर्ने अवस्था रहेको मौसमविद् प्रधानाङ् बताउँछन् ।
आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ.। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिए ।

आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनि प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागको अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *