आफ्नो निर्देशनमा प्राधिकरणमा कुलमान नियुक्त हुन लागेको हल्ला चलेपछि देउवा नै आश्चर्यमा

राजनीति

काठमाडौं । मंगलबार ‘हितेन्द्रलाई बोलाएर उर्जामन्त्रीले भनिन– कुलमानलाई नियुक्त गर्नुपर्ने भयो, ठाउँ खाली गरिदेउ’ शीर्षकको समाचार भाइरल भएपछि सामाजिक सञ्जालमा एकाएक प्रधानमन्त्री देउवाले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) नियुक्ति गर्न निर्देशन दिएको समाचार आउन थाल्यो ।

वास्तवमा देउवाले कुलमानलाई प्राधिकरणको एमडी बनाउन कुनै निर्देशन दिएका थिए । न चासो नै दिएका थिए । यो देउवाका विश्वासपात्र पत्रकारको रुपमा चिनिएका नेपाल प्रेस युनियनसम्वद्ध पदाधिकारीले गरेको प्रचार मात्रै भएको खुलासा भएको छ ।

उर्जामन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई मन्त्रालय बोलाएर राजीनामा दिन सल्लाह दिइन् । तर शाक्यले अस्वीकार गरे । उनले आफूलाई मन्त्रिपरिषदले चार बर्षका लागि नियुक्त गरेकाले चार बर्ष अवधि सेवा गर्ने इच्छा देखाए । तर मन्त्री भुसालले आफ्नो पार्टीको हाइकमाण्डले एमडीमा कुलमानलाई नियुक्त गर्ने कुरा गरेकाले पद छोड्न सल्लाह आग्रह गरिन ।

सोही हटाउँदै अदालतले पुर्नवहाली गर्ने संभावना भएकाले दबाब दिएर शाक्यलाई हटाउने रणनीति अपनाइएको हो । तर उनले सजिलै पद नछोड्ने स्पष्ट संकेत गरेपछि उनले प्रधानमन्त्रीमार्फत हट्न आदेश दिने रणनीति बनाइन् । उनले आफूले भेट्न देउवासँग समय मागिन् । तर शाक्यलाई आफूले बालुवाटार नबोलाएर देउवाका सहयोगी प्रेस युनियनका एक पदाधिकारीलाई फोन गर्न लगाइन् ।

देउवाले भेट्न करिव ११ः३० बजेको समय दिएका थिए । आफूलाई देउवाको विश्वासपात्र पत्रकारको परिचय बनाएका ‘प्रधानमन्त्रीज्यूले भेट्न खोज्नुभएको छ’ भन्दै हितेन्द्रलाई बालुवाटारमा बोलाएका थिए । उनले तोकेको समयअनुसार नै देउवालाई भेट्न पुगे ।

भुसाल बाुलवाटार पुगेर देउवालाई भेटेपछि आफूले शाक्यलाई हटाएर कुलमानलाई प्राधिकरणमा ल्याउन लागेको तर शाक्यले राजीनामा गर्न नमानेको सुनाउँदै तपाईंको रोहबरमा राखेर कुरा गर्नुपर्यो भन्दै शाक्यलाई देउवाको सामुन्ने बोलाएकी थिइन् । शाक्य आएपछि उनले ‘सरकारले प्राधिकरणमा पुनः कुलमान घिसिङलाई ल्याउन खोजेकोछ, उनले यसअघि पनि राम्रो काम गरेकाले जनताको अपेक्षा पनि उनी आउन भन्ने छ । सरकारको चाहना पनि त्यही छ । तपाईंले बाटो खोलिदिनुपर्यो’ भनेर शाक्यलाई बताइन् ।

मन्त्री भुसालले त्यसो भन्दा देउवा मौन देखिन्थे । उनले चुपचाप नै भुसालको कुरा सुनिरहे । शाक्यले यसअघि मन्त्रीलाई दिएको प्रतिक्रिया दोहोर्याएर बालुवाटारबाट फर्किए । भेटमा देउवाले शाक्यलाई राजीनामा दिन कुनै आग्रह वा निर्देशन दिएनन् । न कुलमानलाई नियुक्ति गर्न लागेको नै बताए ।

तर त्यसको केही घण्टामा एकाएक देउवाले हितेन्द्रलाई राजीनामा गर्न निर्देशन दिएको र कुलमानलाई नियुक्त गर्न लागेको प्रचार सुरु भयो । देउवा विश्वासपात्र पत्रकारले लिखित र मौखिमरुपमा समाचार दिए । नाम चलेका मिडियाले नै यसको आधिकारिता भेरिफाई नगरी हतार हतार समाचार छापे । सबै समाचारमा बालुवाटार स्रोत भनिए पनि स्रोतको नाम कतै खुलाइएको छैन् ।

बालुवाटार स्रोतका अनुसार शाक्यलाई हटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि पनि देउवासँगको भेटमा चासो देखाएका थिए । शाक्य यसअघिको केपी ओली सरकारले मन्त्रिपरिषदबाट चार बर्षका लागि नियुक्त गरेकाले राजीनामा नदिएसम्म उनलाई हटाउने अर्को विकल्प नभएपछि मन्त्री भुसालले देउवाको रोहबरमा कुरा गरेकी थिइन् । तर यो भेटको कुरा ट्वीष्ट गरेर एकाएक समाचारहरू आएपछि आफूहरू पनि तीन छक परेको स्रोतले सुनायो ।

देउवाले अहिलेसम्म आफ्नो सचिवालयमा कसैलाई पनि नियुक्त गरेका छैनन् । सबै कुरा स्वकीय सचिव भानु देउवाले हेर्छन् । आफैलाई जानकारी नभएको कुरा देउवाले कुलमानलाई प्राधिकरणको एमडी बनाउन लागे भन्ने कुरा आएपछि उनी पनि आश्चर्यमा परेका थिए ।

जनमत कुलमानको पक्षमा, प्राधिकरणका कर्मचारी र निजी क्षेत्र विपक्षमा
कुलमानलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाउनुपर्छ भन्ने पक्षमा ठूलो जनमत देखिन्छ । त्यो कुरा सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाबाट पनि प्रष्ट हुन्छ । तर सँगसँगै प्राधिकरणका आम कर्मचारी र समग्र निजी क्षेत्र उनलाई दोहोर्याउन नहुने पक्षमा छ ।

यसअघि प्राधिकरणको एमडी भएको बेला कर्मचारीमा कारवाहीको आतंक सिर्जना गरेको, कामभन्दा पनि पपुलिष्ट हुन खोजेको आरोप लगाउँछ भने निजी क्षेत्रले ट्रंक तथा डेडिकेटेड लाइनमा आफूहरूले तिर्नुनपर्ने १५ अर्ब पियाँभन्दा बढि रकम तिराउने र सोही रकमका आधारमा प्राधिकरणको नाफा धेरै देखाउने भूमिका खेलेको आरोप लगाउँछन् ।

छोड्न ठूलो दबाब छः शाक्य
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले आफूलाई पद छोडन् ठूलो दबाब रहेको स्वीकार गरेका छन् । उनले प्राधिकरण छोडे राष्ट्रिय योजना आयोगको सदस्यसहित मागेको अन्य ठाउँमा नियुक्तिको अफर दिइएको सुनाउँदै तर आफूले अरु कुराको लोभमा परेर प्राधिकरणका कर्मचारी र आम उपभोक्तामाझ गरेको प्रतिवद्धताबाट नभाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *