दशैको दिन गुल्मीमा जिप दुर्घटना : तीनजनाको मृत्यु, ६ घाइते

समाचार

काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिका–१० पाँचरातेमा लु१ज ४४९० नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ६ जना घाइते छन् । गए राति करिब ११ बजे जिप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मुसिकोट नगरपालिका–३, नेटाकी १९ वर्षीया संगीता सुनार, मुसिकोट नगरपालिका–२, जलजलाका ७० वर्षीय क्षेत्रबहादुर थापा र सोही ठाउँकी ४० वर्षीया राधिका थापाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।गुल्मीका प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले बाह्रखरीसित भने, ‘‘जिप गए राति ११ बजे दुर्घटनामा परेको हो । घाइतेमध्ये एकजना डिस्चार्ज भएसकेका छन् ।” घाइते पाँचजनाको भने उपचार भइरहेको जनाइएको छ ।

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ ।लु १ ज ४४९० नम्बरको जिप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका– १० छहरा भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा जिप चालकसहित ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा जिप चालक मुसिकोट नगरपालिका–२ जलजलाका २६ वर्षीय कमल थापा, सोही ठाउँका ४३ वर्षीया खिमा थापा, ३८ वर्षीया जुना थापा र ३६ वर्षीय राजु थापा छन् ।

यसैगरी मुसिकोट नगरपालिका–३ नेटा बस्ने ४७ वर्षीया सुमित्रा सुनार र चितवनको भरतपुर नगरपालिकाकी ५० वर्षीया राधा केसी पनि दुर्घटनामा घाइते भएका छन् ।

घाइतेहरुमध्ये खु्ट्टामा चोट लागेका राजु थापा डिस्चार्ज भएका छन् भने अन्यलाई पाल्पाको प्रभासमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *