मोरङको बैंक लुटपाट गर्ने समूह प्रहरीद्वारा सार्वजनिक

समाचार

विराटनगर — मोरङको धनपालथान गाउँपालिका–४, कर्सियाको बीपी चोकस्थित सिटीजन्स बैंकको शाखामा भएको लुटपाटमा संलग्नमध्ये पक्राउ परेका मुख्य योजनाकारसहित ३ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा मुख्य योजनाकार विराटनगर महानगरपालिका–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनील यादव र अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी हुन् ।

पक्राउ परेका सुनील यादवले प्रयोग गरेको कटुवा पेस्तोल र एक राउन्ड गोली, घाइते विजय सहनीबाट बरामद १ मोबाइल, घटनास्थलबाट पेस्तोलको एक राउण्ड गोली, १ खोका र घाइते सुरक्षागार्ड ३८ वर्षीय शितल कुमालको शरीरबाट निकालिएको एक गोली पनि प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

सुरुआती अनुसन्धानमा पहिचान भएका घटनामा संलग्न थप ६ जनाको खोजी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । उनका अनुसार सीसीटीभी फुटेजमा सात लुटेरा बैंकभित्र र अन्य दुई बाहिर देखिन्छन् । लुटेरामध्ये कसले केमा हालेर रकम लिएर गयो र एक पछि अर्को गर्दै कसलाई दियो भन्ने प्रष्ट भइसकेको एसपी जीसीले बताए ।

उनका अनुसार बैंकमा रकम लुटको क्रममा हतारोमा आफैँले बोकेको पेस्तोलबाट गोली चलेर घाइते भएका विजय सहनीलाई लिएर भारततिर भाग्ने क्रममा धनपालथान गाउँपालिका–२, खयरबना चोकबाट तीन जना पक्राउ परेका थिए ।लुटेराहरुले भाग्ने क्रममा प्रयोग गरेको को २५ प ३८९९ नम्बरको मोटरसाइकलसमेत बरामद भएको जीसीले बताए । एसपी जीसीका अनुसार बैंकबाट लुटेको झन्डै २२ लाख रुपैयाँ लिएर लुटेराहरुमध्येका अर्को समूह फरार छ ।

प्रहरीका अनुसार सोमबार अपराह्न एक्कासी बैंकभित्र प्रवेश गर्ने क्रममा लुटेरा समूहमध्येका दुई जनाले सुरक्षा गार्ड ३८ वर्षीय शीतल कुमालको खुकुरी खोसेपछि पेस्तोल ताकेर उनलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । प्रतिकार गर्दा पछाडिबाट अर्को लुटेराले प्रहार गरेको गोली सुरक्षागार्ड कुमालको दुवैतिरको पातामा लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीमध्ये एक गोली छेडेर र अर्को छोएर गएको थियो ।

घटनालगतै उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका कुमालको अवस्था खतरामुक्त रहेको एसपी जीसीले जानकारी दिए । पक्राउमध्ये विजय र पहिचान भएका अधिकांश फरारहरुलाई विभिन्न अपराधमा भारतीय प्रहरीले खोजी गरिरहेको एसपी जीसीले बताए । उनका अनुसार दुवैतिरको प्रहरीले मिलेर उनीहरुको खोजी गरिरहेका छौँ ।

गार्मेन्ट व्यापारमा घाटा लागेपछि निराशामा रहेका मुखियाले भारतीय लुटेराहरुसँग सम्पर्क गरेर घटना हुनु दुई साता अगाडि मात्र लुटको योजना बनाएको उनले बताए । एसपी जीसीका अनुसार घटनामा संलग्नहरुलाई डाका, हातहतियार एवं खरखजाना, ज्यान मार्ने उद्योग एवं संगठित अपराधमा मुद्दा चलाउने तयारी भएको छ ।

२२ असोजमा विराटनगरको मेनरोडस्थित एक गार्मेन्टमा भएको लुटमा पनि उक्त समूहको संलग्नता हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका तीन जनाले उक्त गार्मेन्टको काउन्टरमा रहेको ११ हजार रुपैयाँ नगद र साहु तथा कर्मचारीबाट तीन थान मोबाइल लुटेका थिए ।

थोरै रकम मात्र फेला परेपछि रन्थनीएका लुटेरामध्ये एकले आफूले बोकेको पेस्तोलको पछाडिको भागमा प्रहार गरी गार्मेन्ट सञ्चालकलाई घाइते बनाएका थिए । ‘२२ असोजमा लुटिएको मोबाइल र लुटेराबाट बरामद भएको मोबाइल एवं प्रयोग भएको पेस्तोल बारे बुझ्ने प्रक्रिया जारी छ,’एसपी जीसीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *