मुगु दुर्घटना– अगाडिको दायाँ टायर ‘पञ्चर भएपछि’ बस भिरमा खस्यो(तस्बिरहरु)

समाचार

काठमाडौं– नेपालगञ्जबाट ४५ जना यात्रु बोकेर मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायाँनाथ रारा नगरपालिका– ७ तपने खोलामा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) चित्र बहादुर भट्टराईका अनुसार २४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको हो भने ४ जनाको उद्धार गरेर उपचारका लागि लैजाने क्रममा र अन्य ४ जनाको उपचारका लागि अस्पताल (नेपालगञ्ज) पुर्‍याउँदा मृत्यु भएको हो।

मृत्यु हुनेमध्ये बसका चालक दलबहादुर रावलको मात्रै सनाखत भएको छ। अरुको पहिचान खुलिसकेको छैन। तर, दुर्घटनामा ज्यान गुमाउनेमा धेरै जना मुगुको छायाँनाथ रारा नगरपालिकाका छन्।

दशैं मनाउन घर फर्किरहेका व्यक्ति सवार बस दुर्घटनाको यकिन कारण खुलिनसकेको प्रहरीको भनाइ छ। तर, अगाडिको दायाँ (चालकको सिट मुनिको) टायर पञ्चर हुँदा बस अनियन्त्रित भइ दुर्घटना भएको देखिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी भट्टराईको भनाइ छ।

अनियन्त्रित भएको बस सडकभन्दा ३०० मिटर तल भिरमा खसेको थियो।नेपालगञ्जबाट बसमा चढेकामध्ये २ जना यात्रु दुर्घटना भएको स्थानभन्दा केही वर झरेका थिए। अन्य ३ जनाले भने गाडीबाट हाम फालेका थिए।घाइतेहरु ११ जनाको अहिले नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *