दशैँको मुखमा मुगुमा बस दुर्घटना, कम्तीमा २३को मृत्यु हेलिकप्टरबाट घाइतेको उद्धार गरिँदै

समाचार

नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटना हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताएका छन्।

महतका अनुसार नेपालगञ्जबाट गाडीमा करिब ७० जना चढेको प्रारम्भिक विवरण छ।बस भिरालोबाटोमा धेरै तल खसेको महतले बताए।प्रजिअ महतले भने, “हामी घाइतेलाई उद्धार गरेर विमानस्थल पुर्‍याउने र शव सङ्कलन गर्ने काम गरिरहेका छौँ।”

उद्धार र शव सङ्कलनका लागि सुरक्षा फौज परिचालन गरिएको उनले बताए।अघिल्ला वर्षहरूमा पनि दशैँका बेला सवारी साधनको क्षमताभन्दा बढी मान्छे कोचेर पनि दुर्घटना हुने गरेको छ।

हेलिकप्टर मार्फत घाइतेको उद्धार भइरहेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।’हामीले हेलिकप्टर मार्फत उद्धारको प्रयास गरिरहेका छौँ। दुर्घटनामा २३ जनाको मृत्यु भइसेको छ,’ उनले भने।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको बस दुर्घटनामा परेको हो। घटनाको कारण बारे केही नखुलेको भए पनि उकालोमा बसले तान्न नसकेपछि दुर्घटना भएको हुनसक्ने स्थानीय प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *