राउटेको दशैँमा बलि अनिवार्य, बलि नदिए पुरुषलाई नोक्सानी हुने ‘अन्धविश्वास’,यस्ता छन् राउटेको दशैँको परिकारहरु

रोचक समाचार

बर्षौँदेखि फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका प्रत्येक घरले दशैँमा कुल देवता र वन देवतालाई अनिवार्य रूपमा बलि चढाउने गर्छन्।अरू समुदायमा अष्टमीका दिन बलि दिने चलन भए पनि राउटे समुदायमा भने नवमीमा खसीबोका वा बाख्राको बलि दिने चलन रहेको छ।

बलिको लागि आवश्यक खसीबोका, बाख्रा, कुखुरालगायत अन्य आवश्यक सामानहरू औँसीको दिनभित्रै उनीहरूले किनिसक्छन्।बलि दिनको लागि चाहिने खसीबोका, बाख्रा, कुखुरा राउटेहरूले औँसीको दिन भन्दापछि किन्दैनन्।

बलि नदिए पुरुषलाई नोक्सानी हुने अन्धविश्वास

मष्ट देवता मान्ने राउटेहरूमा दशैँमा बलि दिने खसीबोका र बाख्रा औँसीको दिनसम्म घरमा ल्याएर कुल र वन देवतालाई बलि नदिए पुरुषहरूलाई हानि नोक्सानी हुने विश्वास गर्छन्।”खसीबोका, बाख्राको बलि नदिए पुरुषहरूको मृत्यु पनि हुनसक्छ। त्यसैले औँशीको दिनसम्ममा घरमा अनिवार्य रूपमा खसीबोका, बाख्रा ल्याएर राख्नु पर्छ,” राउटेका पूर्व मुखिया महिनबहादुर शाही भन्छन्।

विगतमा बस्तीका सबै मिलेर एउटा खसीबोका र बाख्राको बलि दिँदै आएका राउटेहरू पछिल्लो समय भने एउटै घरले २-२ वटा सम्म बलि चढाउँछन्।”सरकारले पाँच सय रुपैयाँ भत्ता दिन थालेपछि प्रत्येक घरले एउटा काट्न थाले,” चार वर्षदेखि राउटे समुदायको रेखदेखमा खटिएका लालबहादुर खत्री भन्छन्। भत्ता वृद्धिसँगै अहिले हरेक घरले २-२ वटा खसीबोका र बाख्राको बलि दिने गरेको उनले बताए।

सुकुटी, कुभिन्डो र मुलामा मिसाएर महिनौँसम्म खाने

अरू समुदायले बलिको रूपमा बोका चढाउने गरेपनि राउटेहरू भने बलिका रूपमा खसीबोका, बाख्रा जे पनि चढाउन मिल्ने बताउँछन्।राउटे युवा प्रकाश शाहीले भने, “खसीबोका, बाख्रा जे को दिएपनि हुन्छ तर बलि भने अनिवार्य काट्नै पर्छ। काटेन भने पुरुषलाई समस्या हुन्छ।”

अहिले सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको घाटगाउँमा बसेको राउटे बस्तीखसीबोका, बाख्राको बलि दिने राउटेहरूले परिवारका सदस्य जति छन् त्यति नै सङ्ख्यामा कुखुरा पनि काट्ने गर्छन्।

यसरी बलिको रूपमा एकै पटक काटिएका खसीबोका, बाख्रा र कुखुराको मासुको सुकुटी बनाएर कुभिन्डा र मुलामा मिसाएर उनीहरू महिनौँसम्म खान्छन्।दशैँजस्तै राउटेले माघे र साउने संक्रान्तीलाई पनि महत्त्वका साथ मनाउँछन्।राउटे समुदायले दशैँमा खसीबोका, बाख्राको साथै काँक्रा र कुभिन्डाको पनि बलि दिन्छन्।दशैँमा उनीहरूले मासु भात, जाँड र सेल रोटीहरू खान्छन्।

मान्यजनको हातबाट टीकाजमरा

फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले दशैँलाई सबैभन्दा ठूलो पर्वको रूपमा मनाउने गर्छन्।राउटेले मान्यजनको हातबाट टीका जमरा लगाउने, कुल देवता र वन देवतालाई बलि चढाउने र नाचगान गरी रमाइलोसँग दशैँ मनाउँछन्।दशैँको दिन बिहान १० बजेभित्र टीका जमरा लगाइसक्छन्।त्यसपछि खानपिन गरेर दिउँसो १२ बजेबाट नाचगान गरेर रमाइलो गर्छन्।

सेलरोटी र जाँडको कोसेली

छोरी बहिनीले दशैँमा माइती जाँदा कोसेलीको रूपमा सेलरोटी र जाँड लान्छन्।दशैँमा माइत आएका छोरीबहिनीलाई टीकाजमरा लगाएर आफ्नो गच्छे अनुसारको दक्षिणा दिने चलन राउटे समुदायमा छ।

दशैँमा बलि दिनको लागि राउटे समुदायले ल्याएका खसीबोका र बाख्राहरुदशैँलाई विशेष पर्वको रूपमा मनाउने राउटेहरू नवमीको दिनदेखि दशैँको दुई दिनपछिसम्म बस्तीबाट बाहिर निस्कँदैनन्।दशैँको अघिल्लो साँझबाटै उनीहरूले घरभित्रै नाचगान गर्छन्।अरू दिनमा बाहिरबाट किनेर ल्याएका मदिरा खाए पनि दशैँमा भने उनीहरू घरमै बनाएको जाँडको झोल पिउँछन्।

यसपालिको दशैँमा ढिलो भत्ता बुझेका उनीहरूले साउनमै पाएको भत्ता बचाएर दशैँको लागि आवश्यक सामान किनेको देखिन्छ।बेसारमा मुछेर पहेँलो टीका लगाउनेराउटेले दशैँमा बेसारमा मुछेर पहेँलो टीका लगाउँछन्।जौको जमरा बनाएर लगाउने र जमरालाई पहेँलो बनाउन बेसार पानी हाल्ने पूर्व मुखिया महिनबहादुर शाहीले बताए।

पुरुषले नाचगान गरे पनि महिलाहरू भने नाच्दैनन् ।राउटे समुदाय अहिले सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको घाटगाउँमा बसेका छन्।

बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *