हरिद्वारका बाँदरले बैतडीमा उठिबास : गाउँ नै छाडेर पन्ध्रसय परिवार भारत पलायन

रोचक समाचार

काठमाडौ । बाँदरले खेतीपाती ना स गरेर गाउँमा आ तं क मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–५, ६, ८ र १० का १ हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन् ।

भारतबाट नेपाली सिमानाका झुलाघाटमा छोडिएका बाँदरले खेतीपाती मात्र होइन, भान्साकोठामा पकाएको खाना समेत खोसेर खान थालेपछि दशरथचन्द नगरपालिका–८ धौल्याली गाउँका टेकराम टमाटा, चन्द्री टमाटा र शिवराम टमाटा लगायत दर्जनौं परिवार भारत पलायन भएका हुन् ।

बाँदरका कारण दशरथचन्द नगरपालिका–५ पल्लाचौडाली, वडा नम्बर ८ धौल्याली, साङडी, पुजरगाउँ र वडा नम्बर १० भटाला, झाका, बुड्डा, खडेनी, तिर लगायतका गाउँबाट करीब १ हजार ५०० भन्दा बढी परिवारले गाउँ छाडेर हिँडेका छन् । यही कारण दशरथचन्द नगरपालिकाका ५ वटा विद्यालय विद्यार्थी संख्या नपुग्दा बन्द भएको दशरथचन्द नगरपालिका शिक्षा शाखा प्रमुख मोसन नाथले बताए ।

बाँदर आ तं कका कारण गाउँलेहरू परिवारसहित विस्थापित भएपछि दशरथचन्द नगरपालिका–८ मा रहेका रणशैनी आधारभूत विद्यालयमा ६ जना विद्यार्थी र ८ जना शिक्षक छन् । विद्यार्थी संख्या कम भएपछि विद्यालय जगदम्बा मावि रानी मुङ्गामामा समाहित भएको नाथले बताए । उनले भने, ‘विद्यार्थी संख्या नुहँदा शिक्षकले मात्र तलब खाएर बस्नुपर्ने भएपछि उक्त विद्यालय समायोजन गरिएको छ ।’

शिक्षा शाखा प्रमुख नाथका अनुसार दशरथचन्द नगरपालिका–१० को शान्तिप्रकाश आधारभूत विद्यालय, रणशैनी आधारभूत विद्यालय र ज्ञानेश्वर आधारभूत विद्यालय अन्य विद्यालयमा गाभिएका छन् । वडा नम्बर ६ को जगन्नाथ आधारभूत विद्यालय, दनपा– ८ को रणसैनी आधारभूत विद्यालय र त्रिपुरासुन्दरी आधारभूत विद्यालय समायोजन भएका छन् ।

गाउँको विद्यालय बन्द भएर अन्तै समायोजन भएपछि बसाइँसराइँ गर्न नसक्ने परिवारका नेपाली विद्यार्थी सीमापारि भारतको पिथौरागढ जिल्लाको झुलाघाटस्थित राजकीय विद्यालय जाने गरेका छन् । गाउँका विद्यालय बन्द हुँदा भारतीय विद्यालयमा गएर पढ्नुपर्ने बाध्यता रहेको स्थानीय विद्यार्थी दिवान बिष्टले बताए । सीमापारि गएर अध्ययन गर्दै आएका बिष्टले भने, ‘गाउँमा भएका सबै विद्यालय बन्द भइसके । भारतीय सीमा नजिक बस्ने हामी जस्ता विद्यार्थीलाई भारततिरै गएर पढ्न सजिलो छ ।’

समाचार संकलन गर्न झुलाघाट पुग्दा भारतीय स्कूलबाट फर्किंदै गरेका नेपाली विद्यार्थी मोहित महरले नेपाली राष्ट्रिय गान थाहा नभएको बताए । विद्यार्थी संख्या नपुगेपछि ज्ञानेश्वर आधारभूत विद्यालय पनि दानेश्वर माविमा समायोजन भएको छ ।

गाउँमा रहेको विद्यालय अपायक पर्ने ठाउँमा मर्ज भएपछि स्थानीय साङ्डी गाउँका १५ जना विद्यार्थी सीमा पारि भारतीय स्कूल जाने गरेको स्थानीय रघुवीर थापाले बताए ।

भारतबाट हजारौंको संख्यामा हरिद्वारका बाँदर नेपाली सीमा नजिक झुलाघाटमा ल्याएर छाड्ने गरिएको छ । भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको मजिर काँडा ग्राम पञ्चायतको पूर्व सभापति सुरेन्द्र आर्यका अनुसार राज्य सरकारले रातिराति गाडीका गाडी बाँदरहरू ल्याएर झुलाघाटको जंगलमा छाड्ने गर्छ ।‘यो खासमा नेपालको समस्या हैन,’ उनले भने, ‘यो चुनौती हाम्रो चुनौती हो ।’ राज्य सरकारले राति सुतेका बेला गाडीका गाडी ल्याउँछ । नेपालको बैतडी र भारतको पिथौरागढ जिल्लाको सीमा जोडिएको छ ।

बाँदरले दुःख दिन थालेपछि दशरथ चन्द नगरपालिका– १० बुड्डा गाउँका २० परिवारले गाउँ छाडेको स्थानीय स्वास्थ्य स्वयंसेविका मञ्जु चन्दले बताइन् । बाँदरकै कारण आफूले विगत २ वर्षदेखि खेतीपाती गर्न छाडेको चन्दले बताइन् ।हरिद्वारका बाँदरले गाउँमा लगाएको खेतीपाती स खा प पार्न थालेपछि हुनेखानेहरू तराईतिर झरेको र गरीब विपन्न परिवार भारत गएपछि स्थानीय कैलपाल आधारभूत विद्यालयमा विद्यार्थी नहुँदा स्कूल बन्द हुने अवस्थामा पुगेको प्रधानाध्यापक लक्ष्मण थापाले बताए ।

बाँदरका कारण दरशथ चन्द नगरपालिका वडा नम्बर ४, ५, ६, ८ र १० को गाउँका किसानले खेतीपाती लगाउन छोडेर परिवार बसाइँ सर्न थालेपछि दशरथ चन्द नगरपालिकाले बाँदर धपाउन १० लाख रुपैयाँ बजेट खर्च गरेको उपप्रमुख मीना चन्दले बताए । उपप्रमुख चन्दले भने, ‘बाँदर धपाउन १० लाख बराबरमा मशिन ल्यायौं तर बाँदर भगाउन सकेका छैनौं ।’ गोरखापत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *