प्रधानन्यायाधीशका जेठान बने आपूर्तिमन्त्री

राजनीति समाचार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय गरेका हुन् । हमाललाई मन्त्री बनाउने निर्णय भएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको छ ।

यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच यस विषयमा तनाव समेत भएको थियो । सर्वोच्च अदालतले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेको थियो भने प्रधानन्यायाधीश जबराले हमाल काँग्रेसको नेता भएको हुनाले उनी मन्त्री हुनुमा आफ्नो हात नरहने धारणा सर्वोच्च बारसँगको बैठकमा बताएका थिए ।

प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको आशंकालाई हमालको नियुक्तिले सही सावित गरिदिएको छ । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्रेस बाँकेका नेता हुन् । देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको छ ।

देउवा सरकारका यी हुन् ६ महिला मन्त्री

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा ६ महिला मन्त्री बनेका छन् । झण्डै तीन महिनापछि शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिँदा २५ सदस्यीय देउवा सरकारमा ६ जना महिलाले मन्त्री बन्ने अवसर पाएका हुन् ।

माओवादी केन्द्रले देउवा सरकारमा ६ मन्त्री पाएकोमा आफ्नो तर्फबाट ३ महिला मन्त्री पठाएको छ । जसमा पम्फा भुसाल उर्जा, शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी र बोधमाया कुमारी यादव शिक्षा राज्यमन्त्री बनेकी छन् । त्यस्तै काँग्रेसबाट महिला मन्त्रीका रुपमा उमा रेग्मीले महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाएकी छन् ।

एकीकृत समाजवादी र जसपाले एक–एक जना महिलालाई मन्त्री बनाएका छन् । समाजवादीबाट रामकुमारी झाँक्रीले सहरी विकास, जसपाबाट रेणु कुमारी यादवले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएकी हुन् । समग्रमा देउवा सरकारमा महिलाको प्रतिनिधित्व २४ प्रतिशत पुगेको छ । संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *