आफ्नो बुवाको मृत्युपछि ‘मान्छे बचाउने’ अठोट लिएका डा विनोद, एक विदेशी महिलाको सहयोगमा डाक्टर पढे, प्रवल जनसेवा श्री सम्मान पाउँदै

समाचार

दोलखा – सानै उमेरमा बुबाको मृत्यु भयो। बुबाको मृत्यु किन भयो उनले ठम्याउन सकेनन्। विद्यालय शिक्षा पढ्ने बेलामा पनि उनको मनमा त्यही कौतुहलता जागिरह्यो। जतिजति विद्यालयको कक्षा चढ्दै जान्थे उनी उति नै बुबाको मृत्युको कारण जान्न खोन्थे। तर बाल मस्तिष्कमा त्यसको उत्तर पाउन सक्थेनन्।

जब उनी बुझ्ने भए तब मात्र थाहा पाए उनको बुबाको मृत्यु गाउँघरकै रुढीबादी परम्पराका कारण समयमा नै अस्पताल नपुग्दा भएको रहेछ। ‘समयमा अस्पताल लगेको भए सायद बुबा बाँच्नु हुने रहेछ’ सिन्धुपाल्चोकका विनोद दंगालले जब यो कुरा बुझे त्यसदिन देखि उनले आफू डाक्टर बन्ने अठोट लिए।

डाक्टर बन्ने अठोट लिएपछि उनले जब गाउँघरतिर समय नपुगी मानिसहरुको मृत्यु भएको देख्थे, उनलाई लाग्थ्यो– डाक्टर भएको भए बचाउन सकिन्थ्यो।

बुबाको मृत्युको कारण थाहा पाएदेखि नै डाक्टर तथा स्वास्थ्य क्षेत्रका विषयमा चासो दिन थालेका विनोदलाई डाक्टर बन्न भने त्यति सहज थिएन। गरिव परिवारमा जन्मे हुर्केका उनले थुप्रै चुनौतीसँग पौठेजोरी खेल्नु पर्यो। उनले गाउँकै विद्यालयबाट माध्यामिकसम्मको शिक्षा पुरा गरे।

त्यो सुखद मोड
दुख कष्ट सहेर माध्यामिक शिक्षा अध्ययन गरिरहेको समयमा उनको जीवनमा एउटा सुखद मोड आइपुग्यो। उनको जीवनमा आएको त्यो सुखद मोडलाई गाउँघरतिर ‘भाग्य चिठ्ठा’ समेत भनियो।

इटालीबाट एक विदेशी महिला नेपाल आएकी थिइन्। उनी घुम्दै विनोद पढ्ने स्कुलनमा पुगिन्। गरिब परिवारमा हुर्के पनि पढाईंमा अब्बल विनोद ति महिलाको नजरमा परिन्। ति विदेशी नागरिकले बिनोदको पढाईमा सहयोग गर्ने बचन दिइन्। बचन दिएको केही समयपछि नै उनले विनोदको पढाईमा सहयोग पनि गर्न थालिन्। टेरेजा निकोली नामका ति महिलाले विनोदलाई प्लसटु काठमाडौंमा पढ्न सहयोग गरिन्। विज्ञान बिषय पढेपछि डाक्टर पढ्न सकिन्छ भन्ने कुरा त्यसै बेला थाह पाएका विनोदले लैनचोरको निष्ट कलेजमा विज्ञान (बायोलोजी) बिषय लिएर प्लस टु सके। प्लस टु सकेपछि विनोदलाई डाक्टरी पढ्ने बाटो खुला भयो। उनी एमबिबिएस पढ्न चाइना पुगे। त्यहाँ पनि उनले प्रादेशिक छात्रवृत्तिमा एमबिबिएसको अध्ययन सकेर नेपाल फर्किए।

उनले सन् २००९ मा चीनको चाइना थ्री गोर्जेज विश्वविद्यालयबाट एमबिबिएस सकेका हुन्। त्यसपछि काठमाडौं आएका उनले तीन महिना समुदायमा काम गर्ने क्रममा दोलखा पुगे। तीन महिना दोलखा बसाइका क्रममा उनले विभिन्न किसिमिका बिरामीसँग भेट्ने मौका पाए। त्यसपछि उनलाई लाग्यो ‘मैले यहाँका जनतालाई नियमित रुपमा उपचार सेवा दिनुपर्छ।’ उनी त्यहाँ एक वर्ष बसे।

दोलखामा एक बर्ष बसेपछि उनले एमडी अध्ययन गर्ने निधो गरे। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट उनले सन् २०१४ मा एमडिजिपी पुरा गरे। ग्रामीण भेगका मानिसहरुको आवश्यकता र चिकित्सकको उपलब्धतालाई राम्रोसँग बुझेका कारण उनले एमडिजिपी विषय रोजेका थिए।

भन्छन् ‘नेपालको सन्र्दभमा धेरैजसो डाक्टर गाँउ तथा दुर्गममा नजाने परम्परा त्यो बेला मात्रै होइन वर्तमान अवस्थामा पनि विद्यमान छ । त्यसकारण म यस्तो विषय पढ्न चाहन्थे जुन विषयमा पढेपछि ग्रामिण क्षेत्रका धेरैभन्दा धेरैलाई सेवा दिन सकियोस्। त्यो विषय भनेको एमडिजिपी थियो।’

उनी थप्छन्, ‘धेरै बिरामी गाउँबाट शहर तथा काठमाडौं रेफर गर्दा बाटोमा मृत्यु हुने अवस्था थियो। दुर्गमका बिरामीको दुःख पिडा देखेर नै उनीहरुको दुःखमा मल्हम पट्टी लगाउन एमडिजिपी विषय रोजेँ।’ उनलाई नागरिकको जीवन बचाउन पाउँदा बुबाको याद आउँछ। ‘म हरेक दिन त्यस्तो घट्नासंग खेल्छु कि जुन कुराले मलाई बुवाको याद आउँछ,’ उनी भन्छन्। अस्पतालमा उपचारका लागि आएका बिरामीलाई उनले उपचार सेवा मात्र दिएका छैनन्। रगत आवश्यक परेका बिरामीलाई आफ्नै रगत समेत दिएर जीवन बचाएका छन्।

प्रवल जनसेवा श्री सम्मान पाउँदै
चरिकोट अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा दंगालले ग्रामीण क्षेत्रमा गरेको सेवाकै कारण राष्ट्रपतिबाट प्रवल जनसेवा श्री सम्मान पाउँदै छन्। संविधान दिवसका अवसरमा सरकारले उनलाई उक्त सम्मान दिन लागेको भन्दै नाम सार्वजनिक गरेको छ।
उक्त सम्मान पाउने सूचीमा नाम देखेपछि खुशी हुँदै डा दंगाल भन्छन्, ‘यो सम्मानको श्रेय म एक्लै मात्रै होइन। मेरो समग्र टिम, सबै कर्मचारी, सरकारी निकाय, नगरिपालका, स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन सबैको उत्तिकै साथ र सहयोग छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *