फेरी बुद्ध एयरको अर्को विमानमा पनि समस्या, पोखराका लागि उडेको विमान काठमाडौँ फर्कियो

समाचार

काठमाडौँ– सोमबार बुद्ध एयरका दुईवटा विमानमा समस्या देखिएपछि गन्तव्यमा अवतरण गर्न नसकि काठमाडौँ फर्किएका छन् । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको विमान विराटनगरमा अवतरण गर्न नसकेपछि काठमाडौँ फर्किएको थियो । काठमाडौँबाट पोखराका लागि उडेको अर्को विमानमा पनि समस्या देखिएपछि काठमाडौँ फर्किएको थियो ।

दुबै विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जे शेर्पाले जानकारी दिए । उनका अनुसार पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ कलसाइनको विमान काठमाडौँ फर्किएको हो । सो विमानको ककपिटमा धुवाँ देखिएको थियो ।

ककपिटमा धुँवा आएपछि चालकले विमानलाई काठमाडौँ डाइभर्ट गरेका थिए । काठमाडौंमा अवतरणपछि सो विमान पुनः यात्रु लिएर पोखरा उडेको प्रवक्ता शेर्पाले जानकारी दिए ।

सोमबारै बिहान विराटनगरका लागि उडेको बुद्ध एयरको विमानको ल्याण्डिङ गेयर नखुलेपछि विराटनगरमा अवतरण गर्न सकेको थिएन ।

आकाशमा १० फन्को मारेपछि सो विमान काठमाडौँ फर्केको थियो। काठमाडौँमा अवतरण गर्दा भने ल्याण्डिङ गेयर खुलेकाले विमान सहज अवतरण गरेको थियो । सो विमान अवतरण गरेको भिडियो बुद्ध एयरले सार्वजनिक गरेको छ ।

सो विमानका यात्रुहरु पुनः पनि विराटनगर उडेको विमानस्थलका प्रवक्ता शेर्पाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *