६ जनाको योजनाबद्ध हत्या, चिर्पटसँगै चक्कु पनि हानिएको थियो,घटनाको पुरै योजना यस्तो थियो

समाचार

४ असोज, काठमाडौं । मादी नगरपालिका-१, संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको एक सातापछि प्रहरीले लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दै भनेको थियो, ‘घटना सुनियोजित होइन, चरण घृणा र आवेशमा भएको देखिन्छ ।’

२१ भदौमा तेजबहादुरसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो । २७ भदौमा भतिजो लोकबहादुरलाई अभियुक्तको रुपमा सार्वजनिक गर्दै प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण बीसीले ठूलाबा तेजकुमारको व्यवहारका कारण अभियुक्तको मनमा घृणाभाव रहेको र घटना भएको दिन बिहानै उठाउँदा अचानक आवेशमा आएर घटना घटाएको देखिएको बताएका थिए ।आरोपित लोकबहादुर एक्लैले चार जनालाई चिर्पटले हिर्काएर र एक जनाको भित्तामा टाउको ठेक्काएर हत्या गरेको प्रहरीले बताएको थियो । साथै यो घटनामा हुनुमा सम्पत्ति लुटपाटको योजना नभएको समेत प्रहरीको दाबी थियो ।

तर सोमबार जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनामा संलग्न थप अभियुक्त मात्र सार्वजनिक गरेन, योजनावद्ध रुपमा हत्या भएको समेत बताएको छ ।प्रहरीले हत्याको योजनाकार खड्गबहादुर कार्की भएको बताएको छ भने हत्यामा उनका छोरा हस्तबहादुर, मृतक तेजबहादुरका भाइ रणबहादुर र उनका दुई छोरा लोकबहादुर र नरेश समेत संलग्न भएको प्रहरीको दाबी छ ।

२१ भदौमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । घरमै रहेका ९२ वर्षीय बौद्धमान भने सकुशल छन् । उनले घटना भएको बेला थाहै पाएका थिएनन् ।

योजनाबद्ध हत्या

लोकबहादुरलाई सार्वजनिक गर्दा प्रहरीले प्रष्ट भनेको थियो, यो योजनाबद्ध घटना होइन । तर सोमबार थप अभियुक्तलाई सार्वजनिक गर्दै योजनाबद्ध हत्या भएको बताएको छ ।

प्रहरीले अहिले बताएअनुसार घटनाको अघिल्लो रात लोकबहादुरको घरमा योजना बनेको थियो । भोलिपल्ट तेजबहादुर खेताला बोलाउन लोकबहादुरको घरमा आउने र त्यही मौकामा तेजबहादुर र उनकी पत्नीको हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ । अन्य थाहा पाए उनीहरुको पनि हत्या गर्ने र मिलेमा तेजबहादुरको घरमा भएको धनमाल लाने योजना भएको प्रहरीले बताएको छ ।पूर्व योजनाअनुसार नै खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा गएको र लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नु भनेको भन्दै प्रहरीले भनेको छ, ‘तेजबहादुर लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर घर पछाडि चिर्पट बोकेर तयारी हालतमा बसेको ।’

प्रहरीका अनुसार तेजबहादुरले कराएपछि लोकबहादुर उठे र योजनाअनुसार चिर्पट र कलैची काट्ने चक्कु बोकेर घरतिर फर्किएका ठूलोबालाई पछ्याएका थिए । उनले गोगनेको रुख नजिक पुगेपछि टाउकोमा चिर्पटले हाने । खड्गबहादुरले पनि चिर्पटले हाने भने हस्तबहादुरले चिर्पटका साथै चक्कुले पेटमा हानेर डिलबाट लडाएको प्रहरीले बताएको छ । तेजबहादुरले लोकेले मार्‍यो भनेर कराएपछि उनकी पत्नी कमला र बुहारी रञ्जना आएका थिए । कलोकबहादुरले कमलालाई चिर्पट हानेका थिए भने हस्तबहादुरले छुरा । नरेशले रञ्जनालाई ठेलेर खोल्सामा झरेको र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिलेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

नाबालक दीपेन र गोमालाई पनि हस्तबहादुर र लोकबहादुरले बाटो छोकेको र चिर्पटले हान्नुका साथै घाँटी बटाएर हत्या गरेको संखुवासभा प्रहरीले जनाएको छ ।यसअघि प्रहरीले लोकबहादुर घरमा गएको र कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीलाई टाउको भित्तामा ठोक्काएर हत्या गरेको बताएको थियो । अहिले पाँचै जना गएको र मकै नंग्याइरहेकी पार्वतीलाई हस्तबहादुरले गोठ पछाडि लगेको र लोकबहादुरले टाउको भित्तामा ठोक्काएर घाँटी बटारेर हत्या गरेको बताएको छ ।

६ जनाको हत्या गरेपछि ५ जना नै लोकबहादुरको घरमा गएको र रगत पखालेर छुरी लुकाएको प्रहरीले बताएको छ । उनीहरु फेरि भेला भएर कसैले सोधे केही थाहा नभएको भन्ने र प्रहरीले पत्ता लगाए लोकबहादुरले मानसिक औषधि खाने गरेकाले उनले जिम्मा लिने सल्लाह भएको प्रहरीको दाबी छ ।

‘कसैले घटनाबारे सोधपुछ गरे कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भन्ने सल्लाह भएको रहेछ,’ अनुसन्धानका लागि संखुवासभामा रहेका एसपी भीम दाहालले भने, ‘यदि प्रहरी आएर पत्ता लगाए मानसिक रोगको औषधि पनि खाने गरेका कारण लोकबहादुरले जिम्मा लिने भन्ने सल्लाह भएको रहेछ ।’ त्यही कारण यसअघिको अनुसन्धानमा केही विषय छुटेको प्रहरीको दाबी छ ।
कारण पारिवारिक रिसिइबी

प्रहरीले पहिले घटनाको कारण व्यक्ति रिसिइबी भनेको थियो, अहिले पारिवारिक रिसिइबीले भनेको छ । २७ भदौमा प्रहरीले बताए अनुसार तेजबहादुरले लोकबहादुरलाई अल्छी, पागल भनेर गाली गर्ने गरेको र घटना भएको दिन पनि गाली गरेपछि आवेशमा आएर घटना घटाएको प्रहरीको दाबी थियो ।

तर अहिले तेजबहादुरसँग अरु अभियुक्तको पनि रिस रहेको र मिलेर हत्या गरेको बताएको छ । प्रहरीले अहिले बताएअनुसार अभियुक्तमध्ये एक खड्गबहादुर मादक पदार्थ सेवन गरेर घर परिवारमा झगडा गर्थे, तेजबहादुर उनलाई थाली गर्थे । त्यसबेला नै उनले तलाईं मार्छु भनेको प्रहरीको दाबी छ ।

रणबहादुर र उनका छोरा नरेशलाई पनि केही गर्न सक्दैनन् भनेर भन्ने गरेको र उनीहरुले जहिले पनि हेप्ने भनेर मनमा ईख पालेकाले घटना घटाएको प्रहरीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *