अर्को साता मन्त्रिपरिषद् विस्तार : एकीकृत समाजवादीबाट को–को बन्दै छन् मन्त्री ?

राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । देउवा नेतृत्वको सरकार अझै केही दिन विस्तार नहुने सत्ता गठबन्धनका नेताहरूले बताएका छन् ।

सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तारका लागि अझै हप्ता दिन लाग्नसक्ने बताएका छन् । शुक्रबार नयाँ बानेश्वरमा पार्टी केन्द्रीय कार्यालयको उद्घाटनपछि अध्यक्ष नेपालले आउँदो साताभित्र मन्त्रिपरिषदुले पूर्णता पाउने सक्ने संकेत गरे ।

यही असोज ४ गते संसद् बैठक र असोज ५ गते आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएकाले त्यसपछि मन्त्रिपरिषद् विस्ता हुने उनको भनाइ छ । “आज हो भने आज, भोलि भने भोलि सरकारमा जान तयार छौँ,” अध्यक्ष नेपालले भने, “प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिहाल्थेँ । आशा गरौँ, यो साताभित्र हुनेछ ।”को–को बन्दै छन् मन्त्री ?

नेकपा (एस)का नेता खतिवडा त आफ्नो पार्टी कुनै पनि बेला सरकारमा जान तयार रहेको र को–को मन्त्री हुने भनेर पनि टुंगो लागिसकेको दाबी गर्छन् । यद्यपि, उनले मन्त्री हुनेहरूको नामबारे खुलाउन चाहेनन् । नेता खतिवडाका अनुसार मन्त्री बन्नका लागि मापदण्ड भने बनिसकेको छ ।

“सबै प्रदेशबाट समेटेर मन्त्री बनाइनेछ । दुई–तीनपटक सांसद भइसकेकाहरू स्वतः मन्त्री बन्नेछन्,” मापदण्डबारे खतिवडाले भने, “महिला, भूगोल, सिनियर नेता समेटिनेछन् ।”

नेकपा (एकीकृत समाजवादी)कै अर्का नेताका अनुसार मन्त्री बन्ने विषयमा पार्टीभित्र विवाद पनि छ । केही सांसदहरूलाई मनाउने कोसिस भइरहेको ती नेताको भनाइ छ ।

“मन्त्रीका दाबेदार आठ/नौजना हुनुहुन्छ । जम्मा पाँच/छ मन्त्रालय पाइन्छ । हामीलाई पनि केही नेतालाई सम्झाइबुझाइ गर्नका लागि समय चाहिएको छ,” ती नेताले भने, “कांग्रेसभित्र पनि समस्या छँदै छ । कसैलाई सचेतक बनाएर राख्नुपर्‍यो । पद व्यवस्थापनका लागि मनाउने काम भइरहेको छ ।”

उनका अनुसार पार्टीको मापदण्डमा सांसदहरू भवानी खापुङ, विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ तथा पछिल्लोपटक नेपाललाई साथ दिएकाले प्रेम आले, कृष्णकुमार श्रेष्ठ (किसन) पनि मन्त्री बन्ने ‘लिस्ट’मा छन् । आले र श्रेष्ठ मन्त्री नभए उनीहरूले सिफारिस गरेका सांसद मन्त्री बन्नेछन् ।

सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने भन्ने निश्चित भइसकेको छैन । “नेतृत्व कसले गर्ने भन्ने टुंगो भने लागिसकेको छैन । वेदुराम भुसाल या मुकुन्द न्यौपाने कमरेडमध्ये एकजनाले गर्ने सम्भावना छ,” ती नेताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *