बाबुरामले भेटे देउवा, प्रचण्ड र नेपाल,भने एमसीसी पास गर्नै पर्छ

राजनीति

काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका हुन्।

बिहीबार तीनै जना नेताहरुको निवासमै गएर भेटेका भट्टराईले वर्तमान राजनीतिक अवस्थाको निकासका लागि विभिन्न ५ वटा सुझाव दिएका उनको सचिवालयले जानकारी दिएको छ। भट्टराईले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशको विषयलाई छिटो छिनोफानो गरेर सरकारलाई तत्काल पूर्णता दिनुपर्ने सुझाव दिएका छन्।

यस्तै, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौताका विषयमा राष्ट्रिय सहमति कायम गरी पारित गर्ने सुझाव पनि भट्टराईले दिएका छन्। भट्टराईले संसदमा जारी अवरोध खुलाउन र बजेट पास गराउने वातावरण बनाउन प्रतिपक्षी दलसँग छलफल गर्ने, गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने सुझाव दिएका छन्।

यस्तै, जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने विषयमा पनि भट्टराईले सुझाव दिएका जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *