यस्तो मेहिनती रूखमा डेरा बनाएर अनलाइन कक्षा लिँदैछन् सिम्लेखर्कका धनकुमार (भिडिओ)

Uncategorized

खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित सरस्वती विद्यालयले गत साउन २४ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भन्यो। सोही अनुसार सबै विद्यार्थीलाई फोनमार्फत जानकारी गराइयो। कक्षा सुरू हुन थालेपछि विद्यार्थीहरू ‘जुम एप’ बाटअनलाइन कक्षामा जोडिन थाले। तर सिम्ले घर भएका कक्षा १० मा पढिरहेका धनकुमार मगर एक सातासम्म पनि अनलाइन कक्षामा हाजिर भएनन्। त्यतिञ्जेल उनी कुनै शिक्षकको सम्पर्कमा पनि आएनन्। विद्यालयले सम्पर्क गर्न खोज्यो तर फोन लागेन।कक्षा सुरू हुँदैछ भन्ने खबर त धनकुमारलाई पनि पुगेको थियो तर नेटवर्क नटिपेका कारण उनी कक्षामा सामेल हुन सकिरहेका थिएनन्।

उता कक्षा सुरू हुँदै थियो यता धनकुमार कहाँ नेटवर्क टिप्छ भनेर मोबाइल घुमाउँदै थिए। घरि आँगनको वल्लो छेउ पुग्थे, घरि पल्लो छेउ। त्यसरी वल्लो छेउ, पल्लो छेउ गर्दा कुनै ठाउँमा झ्याप्प नेटवर्क टिपिदिन्थ्यो। अनि धनकुमार त्यो ठाउँमा डेग नचली टक्क अडिन्थे। तर के गर्नु उनको हात केहीबेरमै हल्लिहाल्थ्यो। अनि त नेट पनि गइहाल्थ्यो। नेटको खोजीमा वल्लो छेउ र पल्लो छेउ गर्दागर्दा धनकुमार हत्तुहैरान भए। दिनदिनै नेटको खोजी गर्दागर्दै उता कक्षा छुटिरहेको थियो। जति ढिला गर्‍यो उति पढाइ छुट्छ भनेर उनले केही उपाय त लगाउनुपर्छ भनेर सोच्न थाले।

दुई/तीन दिनपछि उनले कतै रूखतिर चढ्यो भने पो नेटवर्क टिप्छ कि भनेर डिलमै रहेको रूखमाथि चढेर मोबाइल घुमाउन थाले। नभन्दै त्यहाँ नेटवर्क मज्जाले टिप्यो। नेट पनि चल्न थाल्यो। तर फसाद के भयो भने रूखमा चढेर घण्टौं मोबाइल बोकेर कक्षा लिन सम्भव थिएन। त्यसपछि धनकुमारले रूखमै डेरा बनाउने आइडिया लगाए। उनले दुई दिनमै डेरा आफैं तयार पारे। अनि भोलिपल्टैबाट कक्षा लिन थाले।

एक सातापछि अनलाइन कक्षामा टुप्लुक्क देखा परेका धनकुमारलाई विद्यालयका प्रधानध्यापक नविन चाम्लिङले किन कक्षामा हाजिर नभएको भनेर सोधे। धनकुमारले सबै बेलिविस्तार लगाए।

‘साउन २४ गतेदेखि अनलाइन कक्षा सुरू गरेका थियौं। तर धनकुमार भाइ एक सातापछि मात्रै कक्षामा आउनुभयो। अनि यत्रो दिन कक्षा किन नआएको भनेर बुझ्दा नेट नटिपेकाले कक्षामा आउन नसकेको रैछ,’ प्रधानध्यापक चाम्लिङले सेतोपाटीसँग भने, ‘पछि रूखमा नेटवर्क टिपेपछि त्यहाँ डेरा बनाउँदा समय लागेछ। डेरा बनेपछि त अहिले धनकुमार नियमित कक्षामा हाजिर भएको छ।’ उनले धनकुमारमा पहिल्यैदेखि पढ्नुपर्छ भन्ने हुटहुटी रहेको सुनाए।

कक्षामा शीर्ष पाँचमा पर्ने धनकुमार खेलकुदलगायत बाहिरी क्रियाकलापमा पनि उतिकै अब्बल रहेको उनी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *