बालकोटवाट निरास भएर दलको बैठक बहिष्कार गरेका भीम रावलले भने, ‘अब एमालेमा नरहने अवस्था आउन सक्छ’

राजनीति

काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत भएको निष्कर्ष निकाल्दै संस्थापन पक्षमै रहने निर्णय गरेका उपाध्यक्ष भीम रावललाई अहिले पछुतो हुन थालेको छ । उनले आफू निकट नेताहरूलाई १० बुँदे सहमति कार्यान्वयन नभए एमालेमा नरहने अवस्था आउन सक्ने संकेत गरेका छन् ।

उनले पार्टीलाई सहमति कार्यान्वयमा जोड दिन आग्रह गरेका छन्। आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट भएको बताएपछि रावल झस्किएका हुन् । उनले ओलीको यस्तो निर्देशनले १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको बताएका हुन्।

आइतबार ओली निवास बालकोटबाट फर्किएपछि रावल एमाले दलको बैठकमा समेत नगएका रावल आफु निकटका नेताहरुसंग छलफलमा बसे । उनले १० बूँट सहमति कार्यान्वयनमा चुनौती थपिएको बताए।

सिंहदरबारमा प्रतिनिधिसभा सदस्य झपट रावल र एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीसँग रावलले १० बुँदे सहमति कार्यान्वयन आवश्यक रहेको र उक्त सहमति कार्यान्वयन नभए समस्या हुने बताएका हुन्।

जोशी एमालेमा विवाद हुँदा रावलले गठन गरेको समानान्तर कमिटीको सुदूरपश्चिम अध्यक्ष थिए। सिंहदरबारभित्रै भएको छलफलमा रावलले आइतबार बिहान ओली निवासमा भएको छलफलबारे जानकारी गराएका थिए। उनले अध्यक्ष ओलीले सुदूरपश्चिममा भट्टलाई इन्चार्ज बनाउन चाहेको भन्दै १० बुँदे कार्यान्वयन नभए एमाले भित्रै रहेकाहरू पनि नरहने आसय व्यक्त गरेका थिए।

‘लाखौं लाख कार्यकर्ताको रगत र पसिनाको बनाएको पार्टी हो । अन्तिम सम्म अझै प्रयत्न गर्नु पर्छ । जेठ २ मा लैजान र १०बुँदे कार्यान्वयन गर्न नेतृत्व इमान्दार भएर लाग्नु पर्छ,’ भीम रावलले भनेको कुरा उदृत गर्दै झपट रावलले भने, ‘यो हुँदैन भनेर बाहिरिनु भएका साथीहरूलाई पनि आउने वातावरण बन्छ नत्र यहिँभित्र रहेका साथीहरू पनि यहाँ नअट्ने वातावरण बन्छ भन्ने उहाँको बुझाइ छ।’

छलफलमा दैलेखबाट निर्वाचित राजबहादुर बुढा पनि थिए। केहि व्यक्तिहरुको कारणले १० बूँदे र जेठ २ मा जान समस्या भइरहेको बताए। उनले जेठ २ भन्दाअघि सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल रहेको भन्दै अब पनि रावलले जिम्मेवारी पाउनु पर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *