संखुवासभा हत्याकाण्डः प्रमाण मेटाउन बालबालिकाको लखेटेर हत्या

समाचार

काठमाडौं, २६ भाद्र । १३ दिने परिवारभित्रका काका तेजबहादुर कार्कीसँगको रिसले लोकबहादुर कार्कीले परिवारका ६ जनाको हत्या गरेको खुलेको छ । प्रहरीसँगको बयानमा २६ वर्षीय लोकबहादुर कार्कीले आफूलाई जहिल्यै हेप्ने गरेकाले आवेगमा तेजबहादुरको हत्या गरेको भनेका छन् ।२१ भाद्रको विहानै पाँच बजे खेताला खोज्न हिंडेका तेजबहादुरलाई पछाडिबाट टाउकोमा ह्यामरले हिर्काएर हत्या गरेका थिए । ह्यामरले हिर्काउँदा तेजबहादुर चिच्याएपछि परिवारका अन्य सदस्य पनि आएका थिए ।

तेजबहादुरकी पत्नी कमला कार्की र बुहारी रञ्जना कार्कीले हत्या गरेको देखेपछि दौडदै आएको र उनीहरुको पनि हत्या गरेका बयान दिएका छन् । दुवैलाई ह्यामरले हिर्काएका थिए । यो दृश्य ८ वर्षीय विपिन कार्की र ५ वर्षीया गोमा कार्कीले पनि देखेपछि उनीहरुको पनि हत्या गरेका थिए ।

हत्या गर्न खोज्दा विपिन र गोमा भागेका थिए । उनीहरुको लखेटेर हत्या गरेको बयान लोकबहादुरले दिएको प्रहरीले जानकारी दिएको छ । त्यसपछि घरमा बसेकी ८४ वर्षीया पार्वती कार्कीको पनि हत्या गरेका थिए । बुद्धमान कार्की कान नसुन्ने भएकाले केही थाहानपाएकाले छाडिदिएका थिए ।

लोकबहादुरले तेजबहादुरमाथि आफ्नी आमाको हत्या गरेको आशंका समेत गरेका थिए । तेजबहादुरकै घरमा उनकी आमा लडेको कारण आशंका गरेका थिए । पछि उपचारका क्रममा आमाको मृत्यु भएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा तेजबहादुरको घरमा रगत लागेको सर्ट र हत्यामा प्रयोग भएको ह्यामर फेला परेको थियो । सबै प्रमाण संकलन गरेपछि तेजबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मानसिक रोगी भएको भनिएका लोकबहादुरले औषधी सेवन गर्दै आएको खुलेको छ ।

संखुवासभाको मादी नगरपालिकास्थित उम्लिङमा २१ भाद्रमा एकै परिवारका छजनाको हत्या भएको थियो । घरमूली ९० वर्षीय वृद्ध बौद्धमान कार्की मात्र जिवित भेटिएका थिए । बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष ८ का विपिन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की मृत फेला परेका थिए ।

पार्वतीको शव घरमा नै फेला परेको थियो । तेजबहादुरको शव रोडको भित्तामा, कमला र रञ्जनाको शव खोलामा भेटिएको थियो । विपिन र गोमाको शव एक किलोमिटर टाढा बारीमा मृत फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *