जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा, यी हुन् सम्भावित नाम

राजनीति समाचार

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् । अध्यक्ष यादवनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल बिस्तार गरे पहिलो चरणमा दुईजनाको मात्रै नाम दिने सोच उनले बताएका छन् ।

दोस्रो चरणमा चारजनाको नाम दिने भएका छन् । देउवाले एकै चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने भए भने एकैपटक ६ जनाको नाम दिने तयारी भएको स्रोतले बतायो ।पहिलो चरणमा विवाद नहुने गरी दुई नेताको नाम सिफारिस गर्ने तयारी भएको यादवनिकट स्रोतले बतायो । स्रोतका अनुसार यादवले पहिलो चरणमा महेन्द्र यादव र राजेन्द्र श्रेष्ठको नाम सिफारिस गर्ने सम्भावना छ ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।

उस्तै समाचार
‘मन्त्रिपरिषद् विस्तार सोमबारभित्र’

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा देउवाले सत्ता साझेदार दलसँग मन्त्रीका लागि यथाशीघ्र नाम सिफारिस गर्न आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालय भागबन्डाको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ,’ उनले भने, ‘कुन दलले कति मन्त्रालय पाउने टुंगो लाग्न बाँकी छ ।’ जसपा र एकीकृत समाजवादीका नेताले आफ्ना जनप्रतिनिधिको टुंगो निर्वाचन आयोगले आइतबारसम्म लगाउने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्नु उचित हुने बताएका छन्।

कांग्रेसका एक नेताले पनि सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा देउवा रहेको बताए । गठबन्धनको बैठकमा दलहरूले पाउने मन्त्री र मन्त्रालय संख्याबारे पनि छलफल भएको उनले जानकारी दिए । देउवाको नेतृत्वमा सरकार गठन भएको २ महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद् ६ सदस्यीय मात्र छ । कांग्रेसबाट प्रधानमन्त्रीसहित ४ जना (एक राज्यमन्त्री) र माओवादी केन्द्रबाट २ जना मन्त्री छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *