टिकटकमा चर्चित दम्पती जसको अभिनय कलाकारले समेत मन पराए (भिडिओ)

मनोरंजन रोचक समाचार

गोपाल कृति माझी बनेर खोला किनारमा आए। उनकी श्रीमती नमु न्यौपानेले नाचेर उनलाई साथ दिइन्। छोरीले भिडिओ खिचिन्। ‘माछीलाई खोलीको लेउ’ गीतमा यो दम्पतीले बनाएको टिकटक भिडिओ अहिले भाइरल छ। चार दिनअघि युट्युबमा सार्वजनिक हरिवंश आचार्य र मेलिना राईले गाएको यो गीतको भिडिओ जसरी ट्रेन्डिङमा छ, गोपाल र नमुको भिडिओ पनि सामाजिक सञ्जालमा निकै चर्चामा छ।

मान्छेहरूले उनीहरूको अभिनयको प्रशंसा गर्दै भनेका छन्– कस्तो जिवन्त अभिनय!

यो गीतको म्युजिक भिडिओमा अभिनय गर्ने मुख्य कलाकारहरू, हरिवंश आचार्य, करिश्मा मानन्धर, केकी अधिकारी, पल शाह र गायिका मेलिना राईले पनि उनीहरूको भिडिओ मन पराएर सेयर गरेका छन्। ‘राम्रो’ भनेर तारिफ गरेका छन्।

टिकटक भिडिओमा रमाएका गोपाल र उनकी श्रीमती नमुले उक्त खुसी साट्दै टेलिफोनमार्फत सेतोपाटीसँग भने, ‘अहिले बल्ल मान्छेहरूले कलाको महत्व बुझ्न थाले। हामीलाई हाम्रो कामको सम्मान भएजस्तो महशुस भएको छ।गोपाल लामो समयदेखि रंगमञ्चमा काम गरेका कलाकार हुन्। मोफसलमा सडक नाटकहरू गरिरहने उनले २०६४ सालमा काठमाडौंको गुरुकुलमा एक महिना र मण्डला नाटकघरमा एक हप्ता अभिनय तालिम लिएका थिए।

‘अँध्यारो उज्यालो’, ‘क्रमशः’, ‘अबोध क्रन्धन’, ‘पछुतो’ लगायत नाटकमा उनले काम गरे। २०७१ सालमा पछुतो नाटक गरेपछि भने घरायसी व्यस्तताले उनी रंगमञ्चबाट टाढिए।त्यही पनि नाटकको भोक मेटाउन उनी कार्यशालाहरू सञ्चालन गर्छन्। स्कुलका विद्यार्थीलाई नाटक सिकाउँछन्। ‘वर्णमालाः स्कुल अफ थिएटर’ मार्फत् उदयपुरका विद्यार्थीलाई नाटकको माध्यमबाट पढ्ने वातावरण राम्रो हुन्छ भन्दै जनचेतना फैलाइरहेका छन्। विद्यार्थीलाई तालिम दिएपछि काठमाडौंमा बाल नाटक देखाउन ल्याउँछन्।
फाट्टफुट्ट नाटक सिकाएर मन बहलाए पनि उनीभित्रको अभिनय भोक मरेको थिएन। त्यसैले टिकटक अभिनय प्रस्तुत गर्ने अर्को रंगमञ्चजस्तो लाग्छ उनलाई।

‘सुरूसुरूमा त मान्छेहरूले के गरेको होला भन्नुहुन्थ्यो। अहिले उहाँहरू नै प्रशंसा गर्नुहुन्छ,’ गोपालले भने, ‘टिकटक सदुपयोग गर्ने हो भने हामीजस्ता कलाकारका लागि राम्रो ठाउँ हो।’

गाईघाट, उदयपुर घर भएका उनको पूरा नाम गोपालकृष्ण तिमल्सिना हो। त्यही नाम छोटकरी बनाउँदै उनले गोपाल कृति बनाएका हुन्। उनी ४८ वर्षका भए, श्रीमती नमु ४० वर्ष।

गोपाल र नमुले ०५४ सालमा प्रेम विवाह गरेका हुन्। गाउँमा खोलिएको ‘शिखर युवा क्लब’ मा सँगै काम गर्दा दुईको सम्बन्ध नजिकिएको थियो।

बिहेपछि धेरै समय तालिम र सडक नाटकमा भुल्ने गोपालले कहिलेकाहीँ नमुलाई सँगै लैजान्थे। त्यही क्रममा नमुले रंगमञ्चका आयामहरू बुझ्दै गइन्। केही सडक नाटक पनि गरिन्। हाल स्थानीय सगरमाथा मोडल स्कुलमा उनी साना केटाकेटीलाई पढाउँछिन्। नाच्न पनि सिकाउँछिन्। धेरैले उनलाई नृत्य-शिक्षक भनेर चिन्छन्।

त्यो अभ्यास त थियो नै, श्रीमानले टिकटक बनाउन थालेपछि उनलाई साथ दिन आफू पनि जोडिएको उनी बताउँछिन्।

‘पहिलेपहिले हामी फेसबुकमा भिडिओ बनाउँथ्यौं। एकजनाले तपाईंहरूको भिडिओ राम्रो छ, टिकटक बनाउनु न भनेपछि सुरू गरेका हौं,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *