सर्वोत्तम स्टिल विस्फोट प्रकरण: उपचारका क्रममा ५ मजदुरको मृत्यु

समाचार

वीरगन्जः वीरगन्जको सर्वोत्तम स्टिल उद्योगमा गत भदौ १० गते फलाम गलाउने भट्टी पड्किएर घाइते भएकामध्ये ५ मजदुरको उपचारका मृत्यु भएको छ ।

भारतको पटनास्थित एपोलो अस्पतालमा उपचाररत ६ जनामध्ये ५ जना मजदुरको मृत्यु भएको हो ।मृतक सबै ५ जना भारतीय नागरिक हुन् ।पटनामा उपचारका क्रममा भारतको बिहारका ५२ वर्षीय विनोद पाण्डे, बिहारकै २७ वर्षीय गगन नायक बिहारी, भारतकै उत्तर प्रदेशको खुशीनगरका ३२ वर्षीय धिरु सहनी, उत्तर प्रदेशकै लखनउका ३७ वर्षीय मानस परिदा र लखनउकै ३० वर्षीय रामपुकार यादवको मृत्यु भएको हो ।

पटनाको एपोलो अस्पतालमा उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताए ।मजदुरको मृत्यु भएको सूचना पाएर अन्नपूर्णपोष्टकर्मीले प्रश्न गर्दा पाण्डेले भने, ‘हो ५ जनाको मृत्यु भएको रहेछ, भदौ १६ गते ३ जनाको र भदौ १८ गते २ जनाको मृत्यु भएको हो, तर यो जानकारी आज (बिहीबार) मात्रै भएको हो ।’

घटनाको वास्तविकता लुकाउने प्रयासमा उद्योग:

भट्टी विस्फोटको घटना ढाकछोपको प्रयासमा सुरुदेखि नै लागेको उद्योग व्यवस्थापन पक्षले ५ जना मजदुरहरुको मृत्यु भइसकेको भए पनि आधिकारिक रुपमा जानकारी नै दिन मानेको छैन ।बिहीबार साँझ उद्योगका महाप्रबन्धक गुरु प्रसाद चौधरीको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेका छैनन् । पटक पटक फोन सम्पर्कमा गर्दा उनी यस विषयमा बोल्नै चाहेका छैनन् ।

घटना भएकै दिन पनि घटनास्थलमा सन्चारकर्मीलाई समेत जान नदिई उद्योगको मूल गेटबाटै उद्योग व्यवस्थापनले फर्काइदिएको थियो । त्यसपछि वीरगन्जमै सुविधा सम्पन्न ठूला अस्पतालहरु भए पनि घटनाको वास्तविकता बाहिर सार्वजनिक नहोस् भनेर उद्योग व्यवस्थापनले घटना भएकै दिन ६ जना मजदुरलाई उपचारका लागि भन्दै रातारात भारतको पटना लगेको थियो ।घटना भएकै दिन वीरगन्जको अस्पतालमा उपचारत मजदुरले सन्चारकर्मीलाई उद्योगकै लापरवाहीका कारण भट्टी पड्किएर आगो लागेको रहस्य खोलेपछि त्यही दिन रातारात ती मजदुर सहित ६ जना घाइतेलाई रातारात पटना लगिएको थियो।

स्थानीय प्रशासन पनि उद्योगसँग मिलेको आशंका:

घटनाको वास्तविकता लुकाउन उद्योग व्यवस्थापनको प्रयासलाई स्थानीय प्रशासनले पनि साथ दिएको आशंका गरिएको छ । नेपाली उद्योगमा भएको घटनामा घाइते ५ जना मजदुरको एक साता पहिले नै मृत्यु भए पनि यस बारे स्थानीय प्रशासनले भने सामान्य जानकारी समेत राखेको छैन।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ५ जना मजदुरको मृत्यु भएको खबर आफूले पनि सुनेको तर आधिकारिक रुपमा जानकारी आफूलाई नआएको बताए । उनले भने, ‘मैले पनि मौखिक रुपमा मात्रै सुनेको छु, आधिकारिक रुपमा कसैले मलाई जानकारी गराएको छैन, अब म यस बारेमा उद्योग व्यवस्थापनसँग बुझ्छु ।

भदौ १० गते उद्योगमा घटना भएपछि वीरगन्जको अस्पतालमा उपचाररत मजदुरसँग आफूले अस्पतालमै भेटेको र त्यसपछि ६ जना घाइतेलाई उपचारका लागि उद्योग व्यवस्थाप आफैँले लिएर गएको उनले बताए ।

त्यसपछि आफूले यसबारेमा अरु थप जानकारी नलिएको पनि उनले बताए । वीरगन्ज २२ जगरनाथपुर मनियारीस्थित हालै सन्चानलमा आएको सर्वोत्त्तम स्टिल उद्योगमा भदौ १० गते दिउसो उद्योगकै लापरवाहीका कारण फलाम पगाल्ने भट्टी पड्किएर आगो लाग्दा १५ जना मजदुर घाइते भएका थिए ।

तीमध्ये गम्भीर घाइते ६ जनालाई नेपालमा उपचार नगराई उद्योग व्यवस्थापनले उपचारका लागि भदौ १० गते राति नै भारत बिहारको पटना लगेको थियो । अन्य ९ जनाको भने वीरगन्जकै नारायणी बयोधा अस्पतालमा उपचार गरिएको थियो । भदौ १० गते घटना भएको दिन वीरगन्जको वयोधा अस्पतालमा उपचारत मजदुरहरुले उद्योग व्यवस्थापनकै लापरवाहीका कारण भएको घाइते मजदुरले खुलासा गरेका थिए ।

अस्पतालमा उपचाररत घाइतेमध्येका एक मजदुरका अनुसार भदौ १० गते बिलेट उत्पादनका लागि फलाम पगाल्ने भट्टामा कबाडी फलामहरु खन्याउने क्रममा एलपिजी ग्याँस सिलिण्डर पनि परेको त्यही सिलिण्डर पड्किएर विस्फोट भएको थियो ।ती घाइतेले भनेका थिए, ‘भट्टामा फलामजन्य कबाडहरु हाल्ने क्रममा कबाडसँगै ग्याँसको सिलिण्डर पनि पर्यो अनि त्यही सिलिण्डर पड्किएर भट्टा विस्फोट भई आगोको लप्कामा हामी पर्यौँ ।’

कबाडी फलामबाट बिलेट उत्पादन गर्दैआएको खुलासा:

नेपालमा रहेका अरु स्टिल उद्योगले बिलेट आयात गरेर फलामको डण्डी उत्पादन गर्दैआएका छन् । तर व्यपारिक घराना सौरभ समूहले गत साउन ५ देखि सन्चालनमा ल्याएको देशकै सबै भन्दा ठूलो स्टिल उद्योग सर्वोत्तम स्टिल उद्योगले भने आफैँ बिलेट उत्पादन गरेर त्यसबाट फलामको डण्डी पनि उत्पादन गर्दैआएको छ।

उद्योग सन्चालकले फ्रेस फलाम जन्य कच्चा पदार्थबाट बिलेट उत्पादन गर्दैआएको दाबी गरेर प्रचार प्रसार गर्दैआएको छ ।तर भदौ १० गते घटना बारे सन्चारकर्मीलाई जानकारी दिने क्रममा घाइते मजदुरले उद्योगले बजारबाट संकलन गरी पुराना खिया लागेका पुराना स्क्रेप (कबाडी फलाम ) खरिद गरेर बिलेट र डण्डी उत्पादन गर्दैआएको खुलासा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *