‘म्याच फिक्सिङ’मा मुछियो ‘सी’ डिभिजन पनि, एन्फा फेरि विवादमा

खेलकुद

काठमाडाैं– ‘चरी’ भनेर चिनिने गुन्डा नाइके दिनेश अधिकारी कुनै समय डिल्लीबजार कारागारमा थुनिँदा फुटबलका कतिपय राष्ट्रिय खेलाडी उनलाई भेट्न पुग्थे। जसमध्ये तत्कालीन राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापा, रितेश थापा, विकाससिंह क्षेत्री, सन्दीप राई, पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई पछि खेल मिलेमतोको आरोप लागेको थियो। तर, कानुनको अभावमा उनीहरुले उन्मुक्ति पाएका थिए।

चरीलाई मात्र होइन डिल्लीबजारमै थुनामा रहेका हालका गण्डकीका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे, भद्र बन्दीगृहमा थुनिएका चक्रे मिलन, राजु गोर्खाली र कुमार घैँटेलाई समेत विभिन्न खेलाडी भेट्न पुगिरहन्थे। कतिपय खलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकाहरु पनि थिए। यसरी गुन्डा नाइकेसँग खेलाडीको उठबस हुँदा खेल क्षेत्र दूषित बन्न थाल्यो।अहिले यस्तै गतिविधि पुनः दोहोरिन थालेको आशंका गरिएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटका खेलहरुमा मिलेमता भएको भन्दै धादिङको क्लब शुभारम्भ युवा समाज र सिन्धुलीको दुधौली स्पोर्ट्स क्लबले एन्फासमक्ष छानबिनको माग गरेका छन्।

शुभारम्भले आफूलाई अर्को चरणमा पुग्न नदिने मनसायका साथ धादिङकै लगनशील युवा क्लब र ललितपुरको इमाडोल क्लबबीचको खेलमा मिलेमतो भएको आरोप लगाएको हो। समूह ‘एफ’ को लगनशील क्लब छनोटको सम्भावनाबाट बाहिरिसकेको थियो। शुभारम्भलाई पनि अर्को चरणमा पुग्ने अवसरबाट बञ्चित गर्न लगनशीलविरुद्धको खेल मिलेमतो गरेर इमाडोललाई जित दिलाएको आरोप लागेको छ।

समूह ‘एच’ मा रहेको दुधौलीले पनि दक्षिणकाली परोपकार क्लब र मध्यपुर जागरुग युवा क्लबबीचको खेलमा मिलेमतो भएको आरोप लगाएको छ। खेलमा रेफ्रीले पनि मिलेमतो गरेको दुधौलीले एन्फामा छानबिनका लागि बुझाएको निवेदनमा उल्लेख छ। उक्त खेलमा मध्यपुर ५–० ले विजयी भएको थियो।

अस्वाभाविक खेल!
छनोट प्रतियोगिताको एउटै समूहमा परेका धादिङका दुई टिम लगनशील युवा समाज, ज्वालामुखी र शुभारम्भ युवा समाज, गल्छी पहिलो चरणबाट बाहिरिए। आइतबार भएको खेलपछि इमाडोल युवा क्लब समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

शुभारम्भले पहिलो खेलमा लगनशील क्लबलाई १–० गोलले पराजित गरेको थियो भने दोस्रो खेल इमाडोलसँग १–१ गोलको बराबरी खेलेको थियो। आइतबारको खेलअघि शुभारम्भ ४ अंकसहित समूहको शीर्ष स्थानमा थियो। तर, लगनशीलविरुद्धको खेलमा इमाडोल ३–१ ले विजयी भएपछि शुभारम्भ गोल अन्तरमा पछि पर्दै छनोटको पहिलो चरणबाटै बाहिरियो।

शुभारम्भ क्लबका व्यवस्थापक सन्दिप घिमिरेले आर्थिक प्रलोभनमा परेर लगनशीलले इमाडोलसँगको खेलमा मिलेमतो गरेको बताए। ‘इमाडोललाई नकआउट चरणमा प्रवेश गर्न २–० को जित आवश्यक थियो। हामी एकै जिल्लाका भएका कारण खेलअगाडि लगनशील युवा क्लबका म्यानेजर दिपक मगरलाई कल गरेर हाम्रो प्रशिक्षक जितेन्द्र श्रेष्ठले बेस्ट अफ लक भन्नुभयो। तर, मगरले इमाडोलबाट आफ्ना प्रशिक्षक र खेलाडीलाई अफर आएको भनेर हाम्रा प्रशिक्षकलाई भनेका छन्,’ उनले नेपाल लाइभलाई भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *