संखुवासभा सामूहिक हत्या : ‘झारफूक गर्न बोलाएका थिए, हत्या पो भइसकेछ’

समाचार

सोमबार बिहान ९ बजेतिर छिमेकी रामबहादुर खतिवडालाई फोन आयो, ‘कार्की आमै फेरि विरामी भइन्, झारफूक गर्न तुरुन्त जानु पर्‍यो ।’उनका अनुसार बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की बेलाबेला मुर्छित भइरहन्थिन् । केही वर्षअघि मानिसहरुले मृत्यु भइसकेको भनेर घाट लैजाने पनि तयारी गरेका थिए । तर एकाएक होस आयो । सोमबार पनि बौद्धमान पार्वती फेरि बेहोस् भएको भन्ने बुझे र झरफुक गर्ने रामबहादुरलाई खबर गर्न लगाए ।तर उनी नपुग्दै खबर आयो, ‘कार्की परिवार त सखाप भइसक्यो ।’ उनले झारफुक गर्ने भनिएकी पार्वतीको सुतकै ठाउँमा हत्या भएको थियो भने अरुका शव अन्यत्र भेटिएको छ ।

‘गाउँमा कोहीसँग कार्की परिवारको दुस्मनी पनि थिएन, साह्रै मिलनसार थिए’ रामबहादुर भन्छन्, ‘सबैलाई मारेको भनेर लाश देख्दा पनि पत्याउन गाह्रो परिरहेको छ ।’

स्थानीयको आशंका – घटनामा पेशेवर अपराधी

छिमेकी रणबहादुर कार्कीका अनुसार ठूलो छोरा बिहान साढे ८ बजेतिर सडक छेउमा शव देखेको भन्दै डराउँदै आए । त्यसपछि रणबहादुरसहित अन्य व्यक्ति गएर हेर्दा सडक छेउमा घोप्टो परेको अवस्थामा ५२ वर्षीय तेजबहादुर कार्कीको शव भेटियो ।

‘छोराले बढाबाउ भन्दै छुन खौज्दै थियो । मेले रोकेर वडाध्यक्ष र मेयरलाई खबर गरेँ’ उनी भन्छन् । कार्की परिवारको घरतिर जाँदै गर्दा खोल्सीमा बुहारी ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया रञ्जना कार्कीको शव देखेको उनी बताउँछन् ।

घरमा हेर्दा पार्वतीको शव खाटमै सिरक ओडेर लडिरहेको अवस्थामा देखेको रणबहादुरले सुनाए । ‘दुई जना बच्चा पनि थिए । उनीहरु कता होलान् भनेर खोज्दै जाँदा घरमाथि खरबारी छेउमा शव भेटियो,’ उनी भन्छन् । खराबरमिा भेटिएको शव तेजबहादुरका नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको थियो ।छिमेकी नन्दकुमार घटनामा एकजनाको संलग्नता हुनै नसक्ने दाबी गर्छन् । ‘यो त परिवारै सिध्याएको घटना हो अझ खेदाउँदै मारेको घटना कसरी एक्लै सम्भव होला र ?’

सबै मृतकको टाउको पछाडि मात्र चोट भएकाले व्यवसायिक व्यक्तिको घटनामा संलग्नता हुनसक्ने स्थानीय ज्ञानबहादुर कार्की पनि अनुमान गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *