बिचौलियालाई दुई लाख बुझाएर प्रदेश १ को तालिम केन्द्रमा चार नक्कली विद्यार्थी छिरे, छ जना पक्राउ

रोचक समाचार

प्रदेश प्रहरी १ नम्बर प्रदेशको तालिम केन्द्र रानीमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा चार जना नक्कली परीक्षार्थी फेला परेका छन्।
चार जनासहित परीक्षार्थीलाई पास गराइदिने बहानामा पैसाको कारोबार गरेको आरोपमा दुई जना बिचौलिया पनि पक्राउ परेका छन्।

पक्राउ परेका ६ जनालाई नै प्रहरीले पक्राउ गरी शिक्षा ऐन २औ२८ को दफा १७ को १ (क) बमोजिम कारबाही अघि बढाइएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

जिसीका अनुसार पक्राउ पर्नेमा भोजपुर पौवादुङ्‌मा गाउँपालिका-६ का २३ वर्षीय सूर्य राई, सोही ठाउँका १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका-८ का १९ वर्षीय सरोज राई, सोही ठाउँका २७ वर्षीय राजकुमार राई र सहिदभूमि गाउँपालिका-३ का २१ वर्षीय खपाङ राई छन्।पक्राउ परेकामध्ये सूर्य राईले जवान पदमा भर्ना गराइदिन्छु भनी संगम राईबाट एक लाख १८ हजार, सागर राईबाट १ लाख १८ हजार र सरोज राईबाट दुई लाख लिएको खुल्नमा आएको जिसीले बताए।

यो घटनामा राजकुमार राई मुख्य व्यक्ति रहेको खुलेको जिसीले बताए। उनलाई सूर्य राईले परीक्षार्थीलाई चिनाइदिने, समन्वय गरिदिने र पैसा संकलन गरी बुझाउने गरेको खुलेको छ।

प्रहरीले जवान पदमा परीक्षा दिने सक्कली विद्यार्थीको नाम भने खुलाएको छैन। अनुसन्धानका क्रममा रहेकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरी उपरीक्षक जिसीले बताए।

उनका अनुसार बुधबार बिहान जवान पदको परीक्षा सञ्चालन गरिएको थियो। परीक्षा सञ्चालन गर्ने गार्डलाई शंका लागेपछि चार जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको थियो।
‘ती चार जनालाई नियन्त्रणमा लिँदा परीक्षाका असली विद्यार्थी अर्कै रहेको, राजकुमार र सूर्यले पैसा लिई समन्वयमा मिलाएर परीक्षामा सामेल गराएको खुल्नमा आयो,’ जिसीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *