सभामुख सापकोटालाई ओलीको प्रश्‍न: तपाईँ सभामुख कि, गठबन्धनको प्यादा ?

राजनीति

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको आरोप लगाएका छन् ।

पर्सि बुधबार बस्ने संसद बैठकमा ओलीले सभामुखलाई पार्टी फुटाउने षड्यन्त्रको प्यादा भएकोबारे प्रश्न गर्ने चेतावनी दिए । उनले सभामुखलाई गठबन्धनको मतियार हो कि पार्टीको कार्यकर्ता हो भन्ने संसदमा सोधिने बताएका थिए ।

‘पर्सि संसद खुल्दैछ । सभामुखलाई हामीले सोध्नेछौँ उहाँ पार्टी फुटाउने षड्यन्त्रको मतियार हो कि गठबन्धनको प्यादा हो । हामीले सभामुख अग्निप्रसाद सापकोटालाई सोध्नैपर्छ’ नेता ओलीले भने ।

यस्तै देशमा बाह्य हस्तक्षेप हुँदा समेत वर्तमान सरकार मौन रहेको उनको आरोप थियो । राष्ट्रिय युवा संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले वर्तमान सरकार राष्ट्रियता रक्षाका लागि चुक्क नबोलेको बताए । उनले भने, ‘देश बनाउँछु भन्न नसक्ने सार्वभौमसत्ताको रक्षा गर्न सक्छु भन्न नसक्ने देशको भूभागमा १० औं हेलिकप्टरहरु घुमिरहेका छन् । किन हो यस्तो गरेको सोध्न पनि नसक्ने । नेपालमाथि भएको ज्यादतीका बारेमा यो सरकार चुक्क बोल्न सक्दैन ।’

देशका नागरिक मारिँदा पनि यो सरकार बोल्न नसकेको भन्दै उनले सरकारलाई ‘घरका बाघ बनका स्याल’ को संज्ञा दिए । यस्तै एमाले सरकारले देशमा विकासको लहर ल्याएको तर अहिले ती काम रोक्ने काम भएको उनको आरोप थियो ।

अध्यक्ष ओलीले २१० वटा सडक शिलान्याश गरेको भन्दै अहिलेको सरकारले बजेट रोकेकोमा गुनासो गरे ।’यो सरकार टालाटुली बटुली कति राम्री पुतली जस्तो सरकार हो । सरकार बनाउन नसक्ने एमालेलाई सत्तोसराप गरेर हिँड्ने’ नेता ओलीले भने ।

यसवाहेक ओलीले नेकपा एमाले अब मजबुत बन्ने दावी समेत गरेका छन् । उनले माधवकुमार नेपाल लगायत नेताहरुलाई लक्षित गर्दै एमाले लोभीपापीको पार्टी नहुने जिकिर गरे । ‘एमाले लोभीपापीको पार्टी हैन, देश बनाउने पार्टी हो’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *