समाचार

जनकपुरधाम – रेलवे संचालनका लागि ज्यालादारीमा राखिएको कर्मचारीलाई नेपाल रेलवे कम्पनी लिमिटेडका नवनियुक्त महाप्रबन्धक निरञ्जन कुमार झाले हटाएका छन् । रेल्वे कम्पनीका तत्कालिन प्रबन्ध सञ्चालक गुरू भट्टराईले १ सय ५१ जनालाई रेलवे सञ्चालनका लागि ज्यालादारीमा नियुक्त गरेका थिए । ती ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई महाप्रबन्धक झाले आफुखुशी हाजिर नहुन भन्दै एक सूचना प्रकाशित गरी हटाएका छन् ।

महाप्रबन्धक झाले जारी गरेको सूचनामा रेलवे सञ्चालनका लागि समय लाग्न सक्ने भएको हुनाले तत्कालिन व्यवस्थापकबाट ज्यालादारीमा नियुक्त भएका कर्मचारीहरु कार्याले नखटाएको अवस्थामा पनि हाजिर भइरहेकोमा कानूनी रुपमा ज्याला रकम भुक्तानी गर्न नसकिने भएकोले हुनाले हाजिर नगर्न भनिएको छ

रेल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा नियुक्त गरिएका विभिन्न पदका १ सय ५१ जना ज्यालादारी कर्मचारीलाई कानूनसम्मत नमिल्ने भनी झाले हटाएका हुन् । उनले ज्यालादारीका कर्मचारीलाई आफूखुशी हाजिरी नगर्न यदि हाजिर गरे आफै जिम्मेवार हुने चेतावनी सहितको सूचना जारी गरेका छन् ।

प्रबन्ध सञ्चालक झाले भने, ‘कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानूनी प्रावधान छैन् त्यसैले उनीहरूलाई हटाएको छु । अब रेल चल्ने निश्चित भएपछि लोक सेवाको अनुमति लिएर प्रतिष्पर्धाको आधारमा मात्र कर्मचारी भर्ना गरिने छ ।’

यसैबिच, रेलवेमा ज्यालादारीमा कार्यरत रहेका कर्मचारीहरुले प्रबन्ध सञ्चालक निरञ्जन कुमार झाको निर्णयको विरोध जनाउँदै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्यालादारी कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलामार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल रेल विभाग र नेपाल रेलवे कम्पनी लिमिटेडलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा सम्पूर्ण तयारी पूरा भई सञ्चालन गर्ने अवस्थामा रहेको नेपाल रेलवेलाई कानूनी तथा प्राविधिक कारण देखाई आफूहरु हटाएको भनी महाप्रबन्धक झाको निर्णयको भत्र्सना गरिएको छ ।

उनीहरुले नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार दैनिक ज्यालादारीमा कामकाजमा नियुक्ती गरिएका कर्मचारीलाई कुनै समन्वय नै नगरी हटाउन आफूहरुलाई कदापी मान्य नहुने भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *