गण्डकीमा बाढीपहिरो : दुई दिनमै १८ जनाले गुमाए ज्यान

समाचार

पोखरा । गतवर्ष एकै परिवारका ६ जनासहित ९ जनालाई पहिरोमा गुमाएको दुर्लुङ, पवर्तमा यसवर्ष उस्तै नियति दोहोरियो । बिहीबार राति आएको पहिरोले दुर्लुङ भोगेनीको एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

शुक्रबार एकाबिहानै खसेको पहिरोमा माधव शर्माले परिवारकै ५ सदस्य गुमाउनुपर्‍यो । पहिरोमा परी शर्माका आमा ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती पौडेल, छोरीहरु १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय छोरा विनोद पौडेलले ज्यान गुमाए ।जहाँ पहिरो खसेको थियो, त्यहाँ पहिरो खस्छ भनेर कल्पनै गर्न नसकेको कुश्मा ३, दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्या बताउँछन् । ‘केही दिनदेखि झरी परिरहेकै थियो । राति खाना खाएर सुतेको परिवार बिहान उठ्नै नपाई पहिरोले लग्यो,’ उनी भन्छन्, ‘घरभन्दा माथि घोरेटो बाटो छ । घर तल मोटर बाटो छ । भूकम्पले हल्लाएको जमिनमा घोरेटो बाटो मुनिबाट पहिरो खसेछ ।’

पहाडको पाखोमा बस्नुको पीडा आफूहरुले भोग्दै आएको उनले सुनाए । ‘पोहोर दुर्लुङमा पहिरोले ९ जनाको ज्यान निल्यो । यसपालि एउटा परिवारलाई तबाह पारिदियो,’ वडाध्यक्ष पाध्याले भने, ‘पाखोमा घर हुनेलाई झरीले पनि तसाइरहन्छ । कतिबेला कहाँ पहिलो खस्ने हो भन्ने चिन्ता भइरहन्छ ।’पोहोर पहिरो खसेपछि गृह मन्त्रालयले स्थलगत अध्ययन गरेको थियो जसले दुर्लुङका ४५ घर ठूलो पानी परे उच्च जोखिममा रहेको देखाएको थियो । यद्यपि प्राविधिक हिसाबले कुनै पनि रुपमा जोखिममा पर्ने जस्तो ‘नदेखिने’ देखाएको थियो । ‘गाउँ माथि पनि घना वन छ ।

भिरालो जमिन भएर जोखिम मानिनेभन्दा पनि कम देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘खोला, खोल्सी, कुलो केही पनि छैन ।’ तर यस वर्षको झरीबाट दुर्लुंङबासी बच्न सकेनन् ।

२ दिनमा १८ जनाले ज्यान गुमाए

पछिल्लो २ दिनमा मात्रै गण्डकीमा बाढीपहिरोमा परी १८ जनाले ज्यान गुमाएका छन्, जसमध्ये ११ जना पर्वतका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पर्वतमा एकै परिवारका ५ जनासहित ११ जनाले ज्यान गुमाएका हुन् ।

कुश्मा ११ सिल्मीमा गएको पहिरोले २ जनाको ज्यान लियो । मृत्यु हुनेमा मोदी गाउँपालिका ७ कि ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेल छन् । उनीहरु दिदीभेनाको घरमा पाहुना आएकोबेला पहिरोमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा ११ कै पकुवा ताल्चेमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षीय छोरा प्रयूश पौडेल र पौडेलकी सासु ७० वर्षीया डल्ली पाध्या पौडेल छिन् ।

‘पहिरोमा परी बेपत्ता भएका सबैको शव भेटिएको छ । पछिल्लो पटक ७० वर्षीय डल्ली पाध्याको शवसमेत फेला परिसकेको अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले अनलाइनखबरसँग भने ।

शुक्रबार बिहानकै पहिरोले पर्वत मोदी गाउँपालिका ५ अम्बोटका ५० वर्षीय फूलमाया थापाको ज्यान लिएको थियो । बाढी पहिरोले पर्वतमा सञ्चारविच्छेद भएको छ भने पहिरो गर्दा मुख्य सडकमा समेत क्षति पुगेको छ । ‘अविरल वर्षालकै कारण पहिरो झर्दा पोखरा– कुश्मा सडकखण्ड अवरोध भएको छ । क्षति विवरण आउन बाँकी रहेकाले कति भयो भन्ने एकीन भएको छैन,’ प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले भने ।
कास्कीका ७ जनाको मृत्यु

यस्तै कास्कीमा बाढीपहिरोमा परी ७ जनाको ज्यान गएको छ । बिहीबार पहिरोले ५ जनाको ज्यान गयो ।शुक्रबार पोखरा ३२ खुदी खोलाले बगाउँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए । बेगनास तालबाट आएको खोलाले स्थानीय ६० वर्षीय रमेश मगरको ज्यान लिएको हो ।

‘करिब ३० मिटर बगाएर एउटा रुखमा अड्किएको अवस्थामा स्थानीयले फेला पारेका थिए । उद्धारपश्चात चेकजाँच गर्दा चिकित्सकले मृत्यु भएको घोषणा गरे,’ उनले भने ।

पहिरोमा परी बिहीबार पोखरा २० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङको मृत्यु भएको थियो । पहिरोमा परी बेपत्ता भएका श्रेष्ठ दम्पत्तीका ३ वर्षीय छोराको शव शुक्रबार दिउँसोमात्रै फेला परेको छ ।

पोखरा २० कै मुलाबारीमा पहिरो जाँदा २९ वर्षीय विष्णु सार्की र उनका ८ वर्षीय छोरा सन्तोष सार्कीको मृत्यु भएको थियो । यस्तै, पोखरा ११ नमूनाटोमा पहिरोले घर पुरिँदा ४२ वर्षीय लक्ष्मण सार्कीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *