अर्थ मन्त्रालयले एमसिसीलाई पठायो ११ वटा प्रश्न

राजनीति समाचार

अर्थ मन्त्रालयले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे उठेका प्रश्नको जवाफ माग्दै पत्र पठाएको छ।काठमाडौंस्थित अमेरिकी राजदूतावासमा रहेका एमसिसीका प्रतिनिधिलाई शुक्रबार छ पृष्ठ लामो पत्रपठाइएको मन्त्रालयसम्बद्ध उच्च स्रोतले सेतोपाटीलाई जानकारी दियो।

‘अहिले विभिन्न कोणबाट उठेका ११ वटा मुख्य प्रश्न र तिनका सहायक प्रश्नमा पनि स्पष्ट पारिदिन हामीले पत्राचार गरेका छौं। उहाँहरूले ती विषयमा चित्तबुझ्दो तरिकाले स्पष्ट पारेपछि एमसिसी अघि बढाउने सरकारको तयारी छ,’ स्रोतले भन्यो,’उहाँहरूले चाँडै जवाफ पठाउनुहुन्छ होला।’काठमाडौंस्थित अमेरिकी दूतावासले पनि मन्त्रालयको पत्र प्राप्त भएको जनाएको छ।एमसिसी अनुदानबारे अर्थ मन्त्रालयको चिठी आज आएको छ। एमसिसी अनुमोदनका लागि यो एउटा सकारात्मक कदम हो,’ दूतावासका एक अधिकारीले भने,’यसले पूर्वाधार परियोजनाबारे एमसिसीले नेपालीसँग खुला र पारदर्शी संवाद गर्न चाहेको कुरालाई देखाउँछ।’

एमसिसीबाट जवाफ आएपछि संकल्प प्रस्ताव ल्याएर भए पनि अनुमोदन गर्ने सरकारको तयारी छ।

पार्टीहरूबीच विवादका कारणले अहिलेसम्म उक्त सम्झौता संसदबाट पास हुन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारले सो सम्झौता संसदमा टेबल गरे पनि तत्कालिन नेकपाभित्रको विवादका कारण संसदमा छलफलका लागि पेस भएन। प्रधानमन्त्री शेरबहादुर देउवा संसदको आउने अधिवेशनबाट उक्त सम्झौता पारित गराएर काम अघि बढाउने पक्षमा छन्।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउँदै छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *