बाढीपहिरो र डुबानमा परेर ११६ जनाको मृत्यु

समाचार

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परेर ११६ जनाको मृत्यु भएको छ ।

गत जेठ ३० गतेदेखि शुक्रवार दिउँसोसम्म ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिकाको मृत्यु भएको हो । बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १३६ जना घाइते भएका छन् । तीमध्ये ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन् ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । साथै बाढीपहिरोमा परी ३१ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ५ जना बालक र १ जना बालिका रहेका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढीपहिरोमा परेका १ हजार २८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरी उनीहरूलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

बाढीका कारण ३ हजार १८२ वटा घर डुबानमा परेका छन् । ९७८ वटा घर, १६४ वटा गोठ, ६६ वटा पुल, ८ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ हजार ३०३ वटा पशु चौपाया मरेका छन् ।

उक्त अवधिमा भएका जम्मा १ हजार ३४५ वटा विपद्‍का घटनाबाट १ हजार २६९ वटा घर परिवारका ६ हजार १११ जना मानिस विस्थापित भएका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानहरूमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरू उद्धारमा सक्रिय रुपमा संलग्न छन् ।

साथै बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *