‘बालुवाटारमा हुँदा करोडौँको भाँडाकुँडा किनेको छैन, बरु घरबाटै लगेँ’

राजनीति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा बालुवाटारमा करोडौँको भाँडाकुँडा किन्यो भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । उनले नयाँ नयाँ कथा हाल्ने नेताको रूपमा दाहाल रहेको उल्लेख गर्दै प्रधानमन्त्री हुँदा करोडौँको भाँडाकुँडा किनेको भन्ने कुरा सत्य नभएको बताए । बरु आफूले घरबाटै लगेको भाडामा खानेकुरा बनाएर खाएको उनको स्पष्टीकरण थियो ।

राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘प्रचण्डले हाल्ने गर्छन् नि कथा । प्रचण्डले चितवन गएर के भनेछन् भने–मलाई डेढ लाखको खाटमा सुत्यो भनेर कुरा गर्ने केपी ओलीले भान्साको भाँडाकुँडा मात्रै करोडौँको किनेको रहेछ भनेर । मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । के को किन्नु सरकार बेकार । मलाई केही चाहिएको छैन । अव त्यहाँ प्रधानमन्त्रीको निवासमा सेना बस्छ । सेनाले खानु प¥यो होला । सेनालाई खाना पकाउनु प¥यो होला । त्यहाँ ग्यास खर्च भयो होला । अनि करोडौँको भाँडाकुँडा चाहिँ के गर्नु ?’

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देश बरबाद पार्ने काममा मात्रै सरिक हुने पात्रको रूपमा चित्रण गरे । प्रचण्डले धक्का, छलाङ भनेर आफैलाई महाविपत्तितर्फ धकेल्दै लगेको अध्यक्ष ओलीको दाबी छ ।

अध्यक्ष ओलीले नेपाली काँग्रेस महाधिवेशन समेत गर्न नसक्ने गरी बुढो भएको टिप्पणी गरे । उनले ५ वर्षभित्र गरिसक्नु पर्ने महाधिवेशन गर्न नसक्ने काँग्रेसले संवैधानिक रूपमा थप गरेर ६ महिनामा पनि गर्न नसकेर आफूलाई अशक्ति पार्टीको रूपमा उभ्याएको ओलीको भनाई छ । उनले काँग्रेस जस्तो अशक्त पार्टीले आफ्नो पार्टीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नै नसक्ने दाबी समेत गरे ।

अध्यक्ष ओलीले आफ्नो पार्टी एकताबद्ध रहेको बताउँदै उनले माधव नेपाललाई पार्टी भित्रै राख्नका लागि १० बुँदे सहमति गरेको पनि पटक पटक दोहोर्‍याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *