‘मधेसी जनताको माया पाए मधेसमै आएर चुनाव लड्छु र प्रधानमन्त्री बनेपछि संविधान संशोधन गर्छु’ मलाइ भोट दिनुहोस : प्रचण्ड

राजनीति

जनकपुरधाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको साथ पाए मधेसमै आएर चुनाव लड्ने र प्रधानमन्त्री बनेर संविधान संशोधन गर्ने बताएका छन्। मधेसी जनताको पक्षमा सधैँ माओवादी रहेको भन्दै उनले आगामी निर्वाचनमा मधेसमै आएर चुनाव लड्ने बताएका छन्।

सर्लाहीको मलंगवामा शनिबार आयोजित शिक्षक संगठनको एकता कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा गणतन्त्र माओवादीकै कारणले आएको बताउँदै उनले भने, ‘मधेसलाई सम्मान दिने, पहिचान दिने र मधेसीलाई राष्ट्रको सर्वोच्च निकायमा नेतृत्वमा पुर्‍याउने पहल माओवादीले गरेको घोषणा तपाईंहरूले गर्नुभएको छ, मलाई आज गर्भ महसुस भइरहेको छ। मधेसका बुद्धिजीवी, शिक्षकले यो कुरा बुझ्नुभएको छ।’

अध्यक्ष दाहालले जुन बेला मधेसमा अधिकारको लडाइँ चलिरहेको थियो त्यो लडाइँको बेलामा आफ्नो ध्यान मधेसमै रहेको बताए। उनले भने, ‘जबसम्म मधेसी, उत्पीडितलाई अधिकार प्राप्त हुँदैन तबसम्म यो राष्ट्र स्वतन्त्र पनि हुन सक्दैन, नेपाल मुक्त पनि हुन सक्दैन, यो मेरो मान्यता हो। त्यसका लागि सबभन्दा पहिला मधेसी राष्ट्रिय मुक्ति मोर्चा बनाएर सामन्त, दलाल, भ्रष्टको विरुद्ध आन्दोलन छेडियो र मेरो नेतृत्वमा १३ सय मधेसी जनताका छोराछोरीको रगत यो धर्तीमा बगेको छ।’

‘मधेसमा यति ठूलो बलिदान नभएको भए अहिले देशमा संघीय गणतन्त्र, समानुपातिक समावेशी हुँदैनथ्यो’, उनले भने।

अध्यक्ष दाहालले भने, ‘जुन पार्टी र नेतृत्वले मधेस र मधेसी जनताको अधिकार र आत्मसमानका लागि लड्यो, जुन पार्टीले मधेसका व्यक्तिलाई राष्ट्रको सबभन्दा ठूलो राष्ट्रपतिको पदसम्म पुर्‍यायो त्यो पार्टी विदेशीको दलाल, मधेसविरोधी भनियो । त्योभन्दा बढी दुःखको कुरा के हुन सक्छ।’

‘संविधानविरोधी, संघीयताविरोधी केपी शर्मा ओलीलाई आफूलाई मधेसको मसिहा भन्ने महन्थ ठाकुर, राजेन्द्र महतो उसैलाई साथ दिएर उसको सरकारमा सहभागी भएको हो कि होइन’, दाहालले अगाडि भने, ‘यो कुरा तपाईं हामी बिर्सन सक्छौँ। को मधेसको मित्र हो, को शत्रु हो। मधेसविरोधी केपी ओलीलाई साथ दिने।’

उनले देशमा ठूलो बलिदानपछि आएको संघीय लोकतान्त्रिक गणतन्त्र अहिले पनि कार्यान्वयन हुन नसकेको बताए।

संघीयताविरोधी, संविधानविरोधीहरू, समावेशी समानुपातिकका विरोधीले अहिले पनि यो संविधान लागू नहोस्, संविधान परिमार्जन भएर लागू नहोस्, त्यसलाई रोक्न अनेकाैँ षड्यन्त्र गरिरहेको उनले आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *