भीम रावलले दिएको राजीनामा केही पनि होइन : ओली, सात प्रदेशमा सरकार गुमाइसक्दा पनि चेत नखुल्ने : भीम रावल

राजनीति

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे कार्यन्वयन कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामा केही पनि नभएको जवाफ दिएका छन् ।

शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट पार्टीको वडा कमिटीको अधिवेशन उद्घाटन गर्न पुगेका ओलीलाई सञ्चारकर्मीले रावलको राजीनामा बारे सोधेको प्रश्नमा केही पनि नभएको उनले बताए ।

उनले भने, ‘उहाँले राजीनामा के को गर्नुभएको हो ? संयोजन मैले सकिन त्यसकरण मेरो राजीनामा भन्नुभयो । त्यत्रो ठूलो कुरो पनि होइन। लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन।’१० बुँदे सहमति कार्यान्वय हुन्छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले बाँकी केही छन् त्यो हुन्छ भनेर जवाफ दिएका छन् ।विभाजित पार्टी एकता गर्न बनेको १० बुँदे कार्यदलका संयोजक रावलले अध्यक्ष ओलीलाई यसअघि पटक पटक १० बुँदे अक्षरस सम्बोधन गर्नुपर्ने भन्दै आएका थिए । बीचमा ओलीले रावललाई १० बुँदे माग पूरा हुने आश्वासन पनि दिएका थिए ।तर, पछिल्लो समय ओली १० बुँदे सहमतिप्रति सक्रिय नदेखिएपछि शुक्रबार रावलले संयोजक पदबाट राजीनामा दिएका थिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सात प्रदेशमा सरकार गुमाइसक्दा पनि चेत नखुल्ने कस्तो परिपाटी हो: डा. भीम रावल

काठमाडौं, कात्तिक ६ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सात प्रदेशमा सरकार गुमाइसक्दा पनि चेत नखुल्ने कस्तो परिपाटी हो भनी पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष डा. रावलेले भने, “२०७५ जेठ २ को अगाडि फर्कने भनेर १० बुँदे सहमति गर्ने, केन्द्रीय कमिटीकोे बैठकद्वारा जारी अन्तर पार्टी निर्देशन पालना नगर्ने भएपछि मैले कार्यदलको अध्यक्ष हुनुको औचित्य देखिनँ र राजीनामा दिएँ । मलाई अचम्म के लागेको छ भने सिद्धान्त, आदर्श, नीतिका कुरा गर्दा उल्टै मलाई निहुँ खोजेको भनेर लान्छित गरिँदै छ । सात प्रदेशमा सरकार गुमाइसक्दा पनि चेत नखुल्ने कस्तो परिपाटी हो ?”

नेता डा. रावलले १० बुँदे कार्यान्वयन नगर्नका लागि केन्द्रबाटै मानिसलाई उचालिएको आरोप पनि लगाए । उनले थपे, “सुदूरपश्चिममा १० बुँदे कतै पनि कार्यान्वयन भएन । अन्य जनसंगठनमा पनि कार्यान्वयन भएन । त्यसमा भएका समस्याबारे मैले हिजोको स्थायी कमिटी बैठकमा १० बुँदेका प्रमुख कुरा किन लागू हुनुपर्छ भनेर फरक मत राखेको छु । स्थायी कमिटीका प्रायःजसो सदस्य १० बुँदे कार्यान्वयनका पक्षमा हुँदाहुँदै पनि अध्यक्ष केपी शर्मा ओली आफैंले हस्ताक्षर गरेको कुरामा अडिनुुभएन । एकतर्फी रुपमा छानिएका मानिसले नै काम गर्छन् भनिरहनुभएको छ ।”

एक पक्षले आफूलाई देखाएर कार्यदलको अध्यक्ष आफैंले कार्यान्वयन गरे भइहाल्यो भन्ने गरिएको पनि उनले बताए । उनले भने, “१० बुँदे कार्यान्वयन गर्नुपर्छ भन्दा महाधिवेशन आइसक्यो भन्ने अनि कुन कोठामा गरेको सहमति अनुसार केन्द्रीय सदस्य थप्ने ? एमाले व्यक्तिविशेषले दाइँ गर्ने पार्टी होइन ।”

आफूलाई एमसीसीको विरोध र कालापानी, लिपुलेक र लिम्यिाधुराको पक्षमा बोलेका निरन्तर आक्रमण भइरहेको पनि उनले दाबी गरे । उनले भने, “म नीति र आदर्शमा चल्ने मानिस हुँ । व्यक्तिगत रुपमा कुनै नेतासँग मेरो लेनदेन र विवाद छैन । मैले एमसीसीका राष्ट्रघाती प्रावधानको विरोध गरें । कालापानी, लिम्पियाधुराको पक्षमा उभिएँ । त्यसैले म माथि व्यक्तिगत आक्रमण भइरहेको छ । १० बुँदे सहमति कुनै पनि जिल्लामा कार्यान्वयन हुन दिएनन् । यसका परिणाम के के हुन्छन्, हेर्दै जाऊँ ।”** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनले आफू निर्वाचित उपाध्यक्ष भएकाले पार्टी नछाड्ने पनि बताए । उनले भने, “मैले पार्टी एकता बचाउन धेरै प्रयत्न गरें । आजदेखि देशभरि वडा अधिवेशन छ । तर सदस्यता विवाद यथावत् छ । कसैको नवीकरण भएको छैन । जिल्ला कमिटी र वडा कमिटीको बैठक भएको छैन । यस्तो स्थितिमा कसरी महाधिवेशन हुन्छ ?”

प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली सन्धि गरेर जनतालाई झुक्काएको र एमसीसीमा पनि झुक्याउन खोजेको आरोप उनले लगाए । उनले भने, “महाकाली सन्धिमा त्यतिबेला प्रधानमन्त्रीले झुक्याउनुभएको होइन ? म एससीसीबारे प्रधानमन्त्रीसँग बहस गर्न तयार छु । एमसीसी पारित गर्दा मुलुक औपनिवेशीकरणको बाटोमा जान्छ । कांग्रेसलाई एमसीसी पास गर्ने जनादेश छैन । “** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *