सर्पले डसाएर श्रीमतीको हत्या, अदालतले सुनायो आजीवन जेल सजाय

रोचक

५ कात्तिक, काठमाडौं । श्रीमतीको हत्या गर्न उनका श्रीमानले सबैभन्दा विषालुमध्येको सर्प किन्छन् । सर्पले श्रीमतीलाई डसाउँछन् । श्रीमती अस्पतालमा उपचार गरेर ठीक हुँदै गर्दा ती व्यक्तिले अर्को एउटा विषालु सर्प किन्छन् र फेरि डसाउँछन् । यसपटक भने श्रीमतीको मृत्यु हुन्छ ।

मानिस अपराधको यो हद पार गर्न सक्छ भनेर पत्याउनु हुन्छ ? नपत्याइ सुखै छैन । कुनै फिल्मको बनावटी कथाजस्तै लाग्ने यो सत्य घटना हाम्रै छिमेकी मुलुक भारतको हो ।सर्पलाई हतियारको रुपमा प्रयोग गरेर तेस्रो प्रयासमा श्रीमतीको हत्या गर्न सफल भएको अपराधको यो दुर्लभ शैली भारत केरलाका सुरज कुमारले अपनाएका हुन् । उनलाई अदालतले आजीवन काराबासको सजायँ सुनाएको छ ।

यसरी गरे हत्या

सुरज कुमारले विश्वकै विषालुमध्येको एक गोमन सर्प ७ हजार भारुमा खरिद गरेका थिए । भारतमा सर्पको व्यापार अवैध छ । त्यसैले सुरजले दक्षिणी राज्य केरलाका सपेरा सुरेश कुमारसँग गोप्य रुपमा पाँच फिट लामो गोमन सर्प खरिद गरेका थिए । उनले प्लास्टिकको एउटा भाँडोमा राखे । भाँडोभित्र सर्प नमरोस् भनेर उनले हावा छिर्ने सानो प्वाल पनि बनाएका थिए । सर्प बोकेर उनी ४४ किलोमिटरको टाढा रहेको आफ्नो ससुराली गए ।


त्यहाँ उनकी पत्नी उत्तरा पहिलेदेखि थिइन् । उत्तरा सर्पले डसेको उपचारको सिलसिलामा माइतीमा थिइन् । सर्पले पहिलोपटक डसेपछि उनी उपचारको लागि ५२ दिनसम्म अस्पताल बसेकी थिइन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनी माइत गएकी थिइन् । सुरुमा उनलाई रसेल वाइपर नामक विषालु सर्पले डसेको थियो । त्यसको उपचारका लागि उनको खुट्टामा तीन पटक अपरेशन गर्नु परेको थियो ।

गत मे ६ तारिखको दिन राति सुरजले श्रीमती उत्तरालाई एक गिलास जुस खान दिए । त्यो जुसमा उनले बेहोस हुने औषधि मिसाएका थिए । उत्तरा बेहोस् भएपछि उनले गोमन सर्पलाई झोलाबाट निकाले र श्रीमतीको शरीरमाथि खसालिदिए । तर सर्पले उत्तरालाई डसेन । सुरजले भाग्न खोजेको त्यो सर्पलाई फेरि समातेर श्रीमतीतिर फ्याँके । यसपटक पनि सर्पले डसेन ।सुरजले तेस्रो पटक प्रयास गरे । यसपटक भने उनले सर्पको गर्धनमा समातेर उत्तराको वायाँ हाततर्फ लगे । रिसाएको त्यो गोमन सर्पले यसपटक भने उत्तरालाई डस्यो । त्यसपछि उनले त्यो सर्पलाई त्यही भाँडोभित्र बन्द गरेर राखे । जुस पिलाएको भाँडो सफा गरे, सर्पलाई चलाउन प्रयोग गरेको लठ्ठी नष्ट गरे, आफ्नो मोबाइलको कल रेकर्ड डिलिट गरे अनि श्रीमती सुतेकै कोठामा सुते ।

अर्को दिन बिहानपख उत्तराकी आमा कोठाभित्र आउँदा उत्तरा ओछ्यानमा सुतिरहेकी थिइन् । उत्तराको मुख खुल्लै थियो र बायाँ हात एकातर्फ झुण्डिरहेको थियो । परिवारका सदस्यहरुले उत्तरालाई अस्पताल पुर्याए । तर डाक्टरहरुले उनको मृत्यु भइसकेको घोषणा गरे ।पोष्टमार्टम रिपोर्टबाट पत्ता लाग्यो कि उत्तराको मृत्यु विषको कारण भएको छ । अस्पतालले प्रहरीलाई फोन गरेर जानकारी दियो । त्यसपछि थप अनुसन्धानको क्रममा उत्तराको मृत्युको कारण सर्पको विष र बेहोस बनाउने औषधि भएको पत्ता लाग्यो ।उत्तराका आमा–बुवाले मृत्यु असामान्य भएको भन्दै अनुसन्धानका लागि प्रहरीमा निवेदन दिए । प्रहरीले सोधपुछका लागि उनकै श्रीमान सुरजलाई पक्राउ गर्यो । ७८ दिन लामो अनुसन्धानबाट पत्ता लाग्यो कि सुरजले नै आफ्नी श्रीमतीलाई सर्पले डसाएर हत्या गरेका हुन् ।

हत्याको योजना

सुरज र उत्तराबीच एक मेट्रोमोनियल ब्रोकरमार्फत चिनजान भएको थियो । सुरजका बुवा अटो रिक्सा चालक थिए र आमा गृहिणी थिइन् । उत्तरा सुरजभन्दा तीन वर्ष कान्छी थिइन् । उनी नयाँ कुरा सिक्न गाह्रो हुने ‘लर्निङ डिसएबिलिटी’बाट पीडित थिइन् ।उत्तरा सम्पन्न परिवारकी थिइन् । उनका बुवा रबरको ब्यापारी थिए र आमा स्कुलको प्रिन्सिपलबाट सेवा निवृत्त भएकी थिइन् ।सुरज र उत्तराबीच बिहे हुँदा सुरजले ७६८ ग्राम सुन, एक सुजुकी सेडान कार र चार लाख भारु नगद दाइजोस्वरुप लिएका थिए । त्यसबाहेक पनि उत्तराको हेरचाहका लागि भनेर उनका आमा–बुवाले हरेक महिना आठ हजार भारु अतिरिक्त दिंदै आएका थिए ।अनुसन्धान अधिकृतहरुका अनुसार सुरजले एक वर्ष अगाडिदेखि नै श्रीमतीको हत्या गर्ने योजना बनाएका थिए । सोही योजनाअनुसार चार महिनाको अवधिमा श्रीमतीको हत्या गर्न तीन पटक कोसिस गरेका थिए ।

स्थानीय एक बैंकमा कलेक्सन एजेण्टको रुपमा काम गर्दै आएका सुरजको चिनजान गत वर्ष फेब्रुअरी महिनामा सर्प पक्रने काम गर्दै आएका सुरेशसँग भएको थियो । तीनै सुरेशसँग सुरजले पहिलो पटक रसेल वाइपर नामको सर्प १० हजार रुपैयाँ भारुमा किनेका थिए । उनले त्यो सर्पलाई एउटा भाँडोमा राखेर आफ्नो घरको दाउराको रासमुनि लुकाएर राखे ।२७ फेब्रुअरीको दिन उनले घरको पहिलो तलामा त्यो सर्पलाई छाडिदिए र श्रीमती उत्तरालाई पहिलो तल्लामा गएर आफ्नो मोबाइल फोन ल्याइदिन भने । उत्तरा मोबाइल फोन लिन गएको बेला फर्समा सर्पलाई देखिन् । त्यसपछि उनी डराएर चिच्याइन् । श्रीमती कराएको सुनेर सुरज श्रीमती भएको ठाउँमा गए र सर्पलाई घरबाट बाहिर निकाले ।

२ मार्चको राति सुरजले फेरि कोसिस गरे । यसपटक उनले श्रीमती सुत्ने समयमा त्यही सर्पलाई बेडरुममा ल्याएर छाडिदिए । यस पटक त्यो सर्पले उत्तराको खुट्टामा डस्यो । उत्तरा चिच्याइन् । सुरजले त्यो सर्पलाई झ्यालबाट बाहिर फ्याँके ।उत्तराका बुवा विजयसेनन विद्यधरन भन्छन्, ‘केरलामा सर्पले डस्नु सामान्य जस्तै भइसकेको छ । त्यसैले पहिलो पटक हामीले केही गडबडी छ कि भनेर आशंका गरेनौं ।’ भारतमा हरेक वर्ष ६० हजार जनाको मृत्यु सर्पको डसाइबाट हुने गरेको तथ्यांक छ ।त्तराको उपचारका लागि आईसीयू बेड भएको अस्पताल पत्ता लगाउन राति दुई घण्टाभन्दा बढी समय लाग्यो । उत्तरालाई शरीर सुन्निने र रक्तस्राब हुने समस्या थियो । तीन पटकसम्म अपरेशन गरेर स्वास्थ्यका सुधार भएपछि उनी आराम गर्न कोल्लमस्थित आफ्नो माइतमा आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *